विराटनगरः विराटनगर– १८ को बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै नेपालबाट खाली गाडीलाई फर्काउने विषयमा विवाद भएपछि आज जोगबनी नाका ठप्प हुन पुग्यो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भन्सारका एजेन्टबीचको विवादले बिहानैबाट विराटनगरको जोगबनी नाकामा मालवाहक सवारी आउजाउ ठप्प भएको हो । एसएसबीले कुटपिट गरेको भन्दै मालवस्तु जाँचपासमा असहयोग गरेर भारतीय भन्सार एजेन्ट आन्दोलित भएका हुन् । मालबाहक सवारी भारतमै रोकिएपछि विराटनगर भन्सार कार्यालयको राजस्व सङ्कलन पनि प्रभावित भएको भन्सारका सूचना अधिकारी मनिराम पौडेलले बताए ।
एसएसबीले जोगबनी बजार क्षेत्रमा नेपाल फर्कने खाली गाडीलाई समेत रोक लगाएको छ । खाली गाडीका कारण उक्त क्षेत्रमा जाम भएको भन्दै रोक लगाएको बताएको छ ।