झापाः शहरको रोग पनि भनिने डेङ्गु झापामा पहिलोपटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । ५ सयभन्दा बढी होटलहरू रहेको, बसपार्क पनि भएको र अत्यधिक सङ्ख्यामा रहेका गाडीका ग्यारेजहरू रहेको शहर काँकरभिट्टामा त्यसबेला डेङ्गु सङ्क्रमणले प्रकोपकै रूप लिएको थियो ।

सात वर्षअघि जिल्लामा पहिलोपटक डेङ्गु फेला परेपछि हरेक वर्षजसो देखिएको छ । त्यसयता हरेक वर्ष डेङ्गुबाट जोगिने उपायबारे ठाउँठाउँमा चेतना अभियान चलेको छ । तर, तत्कालै चाहिँ सजग हुने र सर्वसाधारणले सङ्क्रमण घटेपछि पीडा भुल्दै जान्छन् । यसैले सङ्क्रमण एकैपटक धेरैमा फैलिने गरेको स्वास्थ्य विज्ञहरूको भनाइ छ ।

पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेङ्गु मोरङसँगै झापामा पनि देखिएपछि मेचीनगर नगरपालिकाले यसबाट बच्न नगरवासीलाई आग्रह गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला स्वास्थ्य कार्यालय, जिल्लाका १५ वटै पालिकाका स्वास्थ्य शाखा संयोजक जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिल्लास्थित सुरक्षा निकायका उच्च अधिकारीसहितको आकस्मिक बैठकमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सबैलाई जिल्लामा डेङ्गुको सङ्क्रमण फैलन नदिन समयमै उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए । हालसम्म जिल्लाको भद्रपुर, बिर्तामोड, अर्जुनधारालगायतका पालिकामा ८ जना डेङ्गु सङ्क्रमित व्यक्ति फेला परेका छन् ।

arena tv add
बैठकसँगै नगरपालिकाले नगरमा डेङ्गु सङ्क्रमण हुन नदिन सबैलाई आआफ्नो स्थानबट सहयोग गर्न आग्रह गरेको छ । आफूलाई पर्याप्त जानकारी भए पनि पूर्व सतर्कता अपनाउन नचाहने सर्वसाधारणको बानीले डेङ्गु सङ्क्रमणलाई तीव्र रूपमा फैलाउन मद्दत गरिरहेको छ । जनस्वास्थ्य क्षेत्रका जानकारहरू सर्वसाधारणले थोरै मात्रै सतर्कता देखाउँदा मात्रै पनि डेङ्गु सङ्क्रमणबाट बच्न सकिन्छ ।

तीव्र शहरीकरणसँगै फोहोरको अव्यवस्थित विसर्जनका कारण नै डेङ्गु सङ्क्रमण बर्सेनि दोहोरिने मुख्य कारण भएको विज्ञहरूले बताएका छन् ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले डेङ्गु सङ्क्रमणबाट जोगिन र जनचेतनामूलक अभियानबाटै यो रोग निर्मूल पार्न बढी प्रभावकारी हुने भएकाले विविध चेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।

मेचीनगरमा डेङ्गु फैलिन नदिन नगरभरका शहरी क्षेत्रमा सरकारी तथा जनस्तरबाटै चेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको नगरप्रमुख विमल आचार्यले बताए । उनले यसअघि डेङ्गुबाट जोगिन सर्वसाधारणले पहिले जानेको सतर्कता शुरुमै अपनाउन र उपाय पनि कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरमा डेङ्गु सक्रमण फैलिन नदिन हरेकले आ—आफ्नो क्षेत्रबाट बेलैमा उच्च सतर्कता अपनाउन आग्रह गरिन् ।

मेची अञ्चल अस्पतालका प्रमुख डा. पीताम्बर ठाकुरका अनुसार डेङ्गु भाइरसको कुनै उपचार नहुने तर सङ्क्रमितलाई लक्षण अनुसारको उपचार गर्नुपर्ने बताए । सङ्क्रमितले चिकित्सकको सल्लाहअनुसार मात्रै औषधी लिने, प्रशस्त आराम गर्ने, झोलिलो खानेकुरा खाने गर्नुपर्ने उनको सुझाव छ । तीव्र शहरीकरण भएको ठाउँमा फोहोर विसर्जन अव्यवस्थित हुँदै गएको र त्यही फोहोरबाट डेङ्गु सार्ने लामखुट्टे जन्मिने, अनि रोगको प्रकोप शुरु हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।