धरानः धरानमा डेङ्गुको प्रकोप भएको मौका छोपेर बिरामीका आफन्तसँग निजी ल्याबहरुले महङगो शुल्कमा किट बिक्री तथा परीक्षण गर्ने गरेको भन्दै धरान उपमहानगरपालिकाले त्यसो नगर्न चेतावनी दिएको छ ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रकोपको मौका छोपी मनपरी रकम लिएर डेङ्गु परीक्षण हुने गरेको गुनासो आएको भन्दै विज्ञप्ति जारी गरिएको बताए ।
डेङ्गु प्रकोपको मौका छोपेर धरानमा परीक्षणको क्रममा प्रयोग हुने टेष्ट किटको वास्तविक मूल्यभन्दा बढी लिने क्लिनिक र ल्याबका सञ्चालकहरूलाई कारबाही गर्ने धरान उपमहानगरपालिकाले चेतावनी दिएको हो ।
डेङ्गु रोग परीक्षण गर्दा टेष्ट किटको मूल्य बढी लिएको प्रमाणित भए प्रचलित कानुन अनुसार कारबाही गरिने विज्ञप्तिमा भनिएको छ ।
यसअघि, स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ती मार्फत टेष्ट किटको मूल्य ४ सय रुपैयाँ पर्ने जानकारी दिएको थियो । तर, धरानमा टेष्ट किटमार्फत डेङ्गु परीक्षण गर्दा न्यूनतम १ हजार २ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म निजी क्लिनिक तथा ल्याबहरूले असुल गरिरहेका छन् । यसबारेमा सङ्घीय स्वास्थ्य मन्त्रालयमा पनि गुनासो पुगेपछि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कारबाही हुने चेतावनी दिएको थियो ।