फाइल तस्बिर

धरानः सङ्खुवासभामा आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण अरुण तेस्रो आयोजनाका विभिन्न क्षेत्रमा करोडौंको क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार अविरल वर्षासँगै आएको बाढीपहिरोले अरुण तेस्रो आयोजनासहितका विभिन्न स्थानमा क्षति पु¥याएको हो । क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी मीनबहादुर लामाले जानकारी दिए ।

अरुण नदीमा आएको बाढीले मकालु गाउँपालिका–३ मा रहेको निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पु¥याएको छ । बुमर मेसिन एउटा, स्काभेटर २ ओटा, लोडर एउटा, ट्याक्टर, कम्प्रेसर मेसिन, कङ्क्रिट पम्प, डिजी जेनेरेटरलगायतका दर्जनौं निर्माण सामग्री बाढी पहिरोले पुरेको डीएसपी लामाले जानकारी दिए ।

त्यसैगरी, पहिरोले अरुण तेस्रोकै मकालु गाउँपालिका–५ को ड्याम साइटको कम्प्रेसर मेसिन, भल्भो मेसिन, गिटी फुटाउने मेसिन, मिक्चरलगायतका समानमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षा र बाढीपहिरोका कारण अरुण तेस्रो आयोजनाको ड्याम साइट क्षेत्रमा निर्माणकार्य समेत प्रभावित भएको छ ।

मकालु गाउँपालिका–३ नयाँबस्तीमा खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणमा प्रयोग भएको एउटा लोडर मेसिन सडकभन्दा ३० मिटर तल पु¥याएको छ । रौता कन्ट्रक्सनले सो सडकको स्तरोन्नतिको काम गरिरहेको छ ।

त्यसैगरी, खाँदबारी नगरपालिका १० चेवाबेसीमा निर्माणाधीन कात्तिके घाटको पक्की पुल निर्माणमा प्रयोग भएको मिक्चर, पानी तान्ने मेसिनलगायत निर्माण सामग्री बाढीले बगाएको छ ।

पहिरोले मकालु गाउँपालिका ५ नुममा एक घर पुरेको छ । पहिरोले मकालु ५ का अजित राईको घर पुरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामाले जनाएको छ । पहिरोले सोमबार साँझ ७ बजे राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुम बजार बस्ने राईको २ तले घरको माथिबाट आएको माटोको ढिस्कोले घर र घरसँगै रहेको भान्साघर र ट्वाइलेट समेत पुरिदिएको छ ।

बाढी पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायत सञ्चालनमा अवरोध भएको छ । पहिरोका कारण खाँदबारी–किमाथाङ्का अन्र्तगत चिचिला गाउँपालिका ४, सुम्मा भीरदेखि कप्ताने भन्ने ठाउँसम्म करिब ३ किलोमिटर सडक बगाउँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सो सडक खण्डमा ठाउँठाउँमा वर्षाले सडकको माटो बगाउनुका साथै ढिस्को खस्दा यातायात सञ्चालनमा असहज भएको हो । त्यसबाहेक अन्य स्थानमा समेत सडक अवरुद्ध भएको छ । विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।