इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीको आसन्न निर्वाचनको लागि शैलेशकुमार बिष्ट समूहले सार्वजनिक गरेको प्रतिबद्धतापत्र आलोचना र झुटमा केन्द्रित भएको छ ।
यही असार १४ गते हुन लागेको निर्वाचनको लागि प्रस्तुत प्रतिबद्धतापत्रमा विपक्षीको अलोचनालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
२ समूहमा प्रतिष्पर्धा हुन लागेको निर्वाचनमा लोकतान्त्रिक र वामपन्थी धारबीच प्रतिष्पर्धा भइरहेको छ । लोकतान्त्रिक समूहको नेतृत्व गर्दै भीमबहादुर पौडेल र वामपन्थी समूहबाट बिष्ट समूह निर्वाचनमा होमिएको छ ।
जेठ ३१ गते सार्वजनिक गरेको बिष्ट समूहको प्रतिबद्धतापत्रमा विपक्षी टिमको नेतृत्व गर्ने पौडेलको खरो अलोचना गरिएको छ । प्रतिबद्धतापत्रको भूमिकाको आधा अंश पौडेलको आलोचनामा खर्च भएको छ । जसमा पौडेल लगातार ३ कार्यकाल उद्योग वाणिज्य सङ्घको कार्यसमितिमा रहेको र कुनै पनि काम गर्न नसकेको कुरा उल्लेख गरिएको छ । बैठक बस्नसमेत समय छैन भन्दै पन्छिने गरेको, भवन निर्माण समितिको संयोजक रहेर पनि भवन निर्माण नगरेको जस्ता आरोप लगाइएको छ ।
पौडेलले लेटाङमा स्कुल बनाएको, विराटचोकमा कभर्ड हल बनाएको र लेटाङमा आफैँले बाटो कालोपत्रे गरेको बताउँदा सो कामले इटहरीवासीलाई के फाइदा भयो भन्दै प्रश्न गरिएको छ ।
इटहरी ६ मा अवस्थित मुक्तिधाम निर्माणमा ५० लाख रुपैयाँ दिँदा त्यही रकम उद्योग वाणिज्य सङ्घको भवनमा लगानी गर्न किन सकिएन भन्दै प्रश्न गरिएको छ । अन्यत्र गरिएका कामबाट इटहरीवासीलाई केही पनि फाइदा नपुग्ने कुरा उल्लेख गरिएको छ ।
धेरै उद्योग खोल्दैमा र धेरैलाई रोजगार दिँदैमा मात्र उद्योगी र व्यापारीको नेतृत्व गर्न नसक्ने कुरा प्रतिबद्धतापत्रको पृष्ठभूमिमा लेखिएको छ । धेरै व्यस्त रहने हुनाले पौडेलले समय दिन नसक्ने कुरा बिष्टको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
कुनै पनि राजनीतिक दल वा संस्थाको प्रतिबद्धतापत्रमा विपक्षीको आलोचनालाई कुनै स्थान दिइँदैन । आगामी कार्यकालमा आफूले गर्ने कामको योजनासहितको वाचालाई नै प्रतिबद्धतापत्रको स्वरूप मानिन्छ । जसको आधारमा मतदाताले धारणा बनाउने र भोट दिने गर्छन् ।
तर बिष्ट समूहको प्रतिबद्धतापत्रमा अर्का प्रतिष्पर्धीको आलोचना गरिएको छ । पौडेल आफूले पनि नभनेका केही विषय बिष्ट समूहको प्रतिबद्धतापत्रमा उल्लेख गरिएका छन् । यसले गर्दा बिष्ट समूह केही हतास वा निराश भएको जस्तो देखिन्छ ।
घरबहाल करको भ्रम
बिष्ट समूहको प्रतिबद्धतापत्रमा हालको नेतृत्वले गरेको कामको विषयमा पनि चर्चा गरिएको छ । बिष्ट हालका कार्यवाहक अध्यक्षहुन् । अध्यक्ष लीलम बस्नेत प्रदेश सांसद भएपछि उनैले सङ्घको नेतृत्व सम्हाल्दै आएका छन् । आफ्नो कार्यकालमा घरबहाल कर घरधनीले नै तिर्ने व्यवस्था मिलाएको कुरा उनको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
तर अहिलेसम्म पनि सो समस्याको समाधान नभएको व्यापारीहरू बताउँछन् । बिष्ट नेतृत्वले सम्पन्न गरेका केही महत्वपूर्ण कामहरू शीर्षकको १३ नम्बर बुँदामा घरबहाल कर घरधनीले तिर्ने व्यवस्था गरिएको उल्लेख छ । तर अहिलेसम्म बहालकर आफूहरूले नै तिरिरहेको व्यापारीको गुनासो छ ।
अघिल्लो निर्वाचनमा दुवै टिमले घरबहाल कर घरधनीलाई तिर्न लगाउने एजेण्डा सार्वजनिक गरेको तर अहिलेसम्म कार्यान्वयन नभएको उनीहरू बताउँछन् ।
विराटनगर लाइनमा देव होटल तथा खाजा घर सञ्चालन गर्दै आएका चलबहादुर आले मगरले अहिलेसम्म आफैँले घरबहाल कर तिर्ने गरेको बताए । वार्षिक रूपमा १ हजार ५ सय रुपैयाँक दरले उपमहानगरपालिकामा लगेर बहाल कर तिरिरहेको उनको भनाइ छ ।
विगत ६ वर्षदेखि सोही स्थानमा होटल सञ्चालन गरिरहेका उनले अहिलेसम्म आफैँले बहालकर तिरिरहेको बताए । निर्वाचनको बेला बहालकर घरधनीले तिर्ने व्यवस्था गराउँछौ भनी चिल्ला कुरा गर्नेहरू चुनावपछि हराउने गरेको उनको गुनासो छ ।
त्यस्तै, इटहरीको सङ्गीतचोकमा रहेको इटहरी स्पोर्टस् जोनकी सञ्चालक अङ्किता सुवेदीले पनि बहालकर आपूmहरूले नै तिरिरहेको बताइन् । आरसीटी मार्केटमा बीएनसी पसल सञ्चालन गर्दैै आएका बुद्ध सुवेदी पनि आफैँले बहालकर तिरिरहेको बताउँछन् । त्यस्तै यु एण्ड मी पसलका सञ्चालक याम खड्का पनि अहिलेसम्म आफूहरूले नै बहालकर तिरिरहेको बताउँछन् ।
गर्दै नगरेको कामलाई गरेको भन्दै प्रचार गरेर व्यापारीको आँखामा छारो हाल्ने काम भएको उनीहरूको भनाइ छ । अब आउने नेतृत्वले यस विषयमा गम्भीर भएर घरबहाल करको समस्या समाधान गर्न पहल गर्नुपर्ने उनीहरू सुझाउँछन् ।