इटहरीः २०७३ सालमा उद्योग वाणिज्य सङ्घ (उवा सङ्घ) इटहरीमा इन्ट्री गरेर सबैभन्दा प्रतिष्पर्धी विजेता बनेका हुन् युवा उद्यमी सुदीप घिमिरे । ठूला व्यापारीहरूको समूहका मतदाता भएको एसोसिएटतर्फबाट घिमिरेले १ मतान्तरले चुनाव जिते । ३३ सदस्य एसोसिएट मतदाताहरूमा उनले १७ मत पाए । प्रतिद्वन्द्वी रेवती दुलालले ल्याए १६ मत ।

३३ सदस्य मतदाता हुँदा तीन वर्ष अगाडि प्रतिष्पर्धात्मक चुनाव जितेर चर्चामा आएका घिमिरे यो पटकको चुनावमा सर्वसम्मत जस्तै देखिएका छन । ८४ सदस्य एसोसिएटतर्फबाट उनीमात्रै छन् हालसम्ममा सार्वजनिक रूपमा देखिएका एक्ला आकाङ्क्षी । योङ, डाइनामिक र एक्टिभ युवा उद्यमीको रूपमा चिनिएका घिमिरे नै अहिलेकै अवस्था भए असार १४ गतेको चुनाव अगाडि नै सर्वसम्मत एसोसिएट सदस्य चुनिने देखिन्छ ।
को हुन् घिमिरे ?
३० वर्षीय घिमिरे इटहरीका युवा उद्यमी हुन् । नेपालमा युवा उद्यमीहरूको संस्थाको सुनसरीका अध्यक्ष पनि हुन् घिमिरे । नेप्लिज योङ आन्ट्रप्यनर्स फोरम सुनसरीका अध्यक्ष हुन उनी । उवा सङ्घदेखि युवा उद्यमीको संस्था अनि विभिन्न सामाजिक काममा सक्रिय घिमिरे १८ वर्षको उमेरबाटै उद्यममा सक्रिय भएका थिए ।

इटहरीको कस्तुरी कलेजमा २०६४ सालताका बीबीए पढ्दै गर्दा उनी धरानमा रहेको आफ्नो पारिवारिक उद्योगमा प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । धरान औद्योगिक क्षेत्रमा रहेको सूर्य कत्था उद्योगका १ सय ५० कर्मचारीका प्रबन्ध निर्देशक भएर उद्यम क्षेत्रमा इन्ट्री गरेका घिमिरे अहिले २ हजार बढी कर्मचारीहरू काम गर्ने एसजी गु्रपमा नेतृत्वदायी भूमिकामा छन् ।

प्रोडक्सन, म्यानुफ्याक्चरिङ, टे«डिङदेखि कृषि क्षेत्रसम्म सक्रिय घिमिरेको व्यापारिक कामको अधिकांश काम सङ्घीय राजधानी काठमाडौंबाट हुन्छ । प्रशासन, आर्थिक कारोबारदेखि कानुनी सबै कुराहरूको केन्द्र काठमाडौं भएको घिमिरेको व्यापारिक गु्रपका कारोबारहरू इटहरीदेखि धनगढीसम्म नेपालका ५ प्रदेशका १५ जिल्लामा पैmलिएका छन् । इटहरीमा भने प्रिमा ग्यास, साथी फ्युलदेखि स्यार्सेकाली पम्प जस्ता व्यवसायबाट घिमिरेलाई स्थानीयहरूले चिन्दै आएका छन् ।

अटो मोबाइल टे«डर्स, नेपालमा विभिन्न ६ वटा सञ्चालनमा रहेका र एउटा सञ्चालनको तयारीमा रहेको ग्यास उद्योगका सञ्चालकदेखि अक्सिजन ग्यास, चिया बगान हुँदै कृषि फारम अनि जलविद्युत निर्माणसम्मका उद्यममा घिमिरे सक्रिय छन् । नेपाली ग्यास बजारको १५ प्रतिशत बजार हिस्सा त घिमिरेको व्यापारिक समूहको रहेको छ ।
के हुन् घिमिरेका चुनावी एजेन्डा ?

अघिल्लो कार्यकालबाट उवा सङ्घमा आएका घिमिरे आफूले पाएको जिम्मेवारी पूरा गरेको बताउँछन । भन्छन्, ‘भवन निर्माण समितिको संयोजकको जिम्मेवारी पाएको थिएँ । पूरा गरँे ।’ अब पनि व्यापारिक मतले विजयी भएपछि पाउने जुनसुकै जिम्मेवारी पूरा गर्न आफू सक्षम भएको घिमिरे बताउँछन् ।

चुनावमा इटहरीका आम उद्यमीका साझा एजेन्डा नै आफ्ना एजेन्डा भएको बताउने घिमिरे इटहरीको उवा सङ्घलाई स्थानीय सरकार, प्रदेश सरकारदेखि सङ्घीय सरकारको नीति निर्माणमा पु¥याउने आफ्नो सपना भएको बताउँछन् । भन्छन्, ‘यसको लागि उद्यमशीलतादेखि नीति निर्माणमा अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्य गर्न सकिन्छ ।’ टुम एक्सपर्ट नामक नेपालमा भएको उद्यमशीलताको लागि काम गर्ने नेदरल्याण्डको संस्थाको उदाहरण भएको भन्दै अरुसँग पनि साझेदारीमा इटहरीको उवा सङ्घको उचाइ र आयातन बढाउन सकिने घिमिरेको तर्क छ ।

एकातिर विभिन्न व्यापारिक कर्मको बोझ अर्कोतिर नेतृत्वको बोझ । यो सबै कसरी सम्भव हुन्छ भन्ने प्रश्नमा घिमिरे हाँस्दै भन्छन्, ‘८० प्रतिशत व्यापार र २० प्रतिशत सङ्गठनमा समय दिने हो ।’ ८० प्रतिशत व्यापार र २० प्रतिशत संस्था, सङ्गठन र उद्यमीको पक्षमा एडभोकेसीको समय दिए काफी हुने उनी बताउँछन् । भन्छन्, ‘उद्यमीको पहिलो धर्म नै उद्यम हो अनिमात्रै अरु आउँछ ।’