धनकुटाः तमोर नदीको याक्चना घाटस्थित एक खुल्ला टारलाई ल्याण्डिङ स्टेसन बनाइयो । जानकारहरूले नदी छेउको किनारामा रहेको खुल्ला चउर उपयुक्त भएको स्थलगत अध्ययनपछि ठहर्‍याए । त्यसपछि धनकुटाको चुलीबनबाट प्याराग्लाइडिङ गर्ने भव्य तयारी भयो । जिल्लाका पत्रकारको उल्लेख्य उपस्थिति भयो । स्थानीयसहित नगरप्रमुख चिन्तन तामाङ नगरको नौलो कामलाई हौसला दिन चुली बन पुगे । पाइलट तथा प्राविधिकले ग्लाइडरको ब्याग के खोलेथे सबैको अनुहारमा चकम आयो ।

paraglading-dhankuta-pradeshportal (1)
एक वर्षअघि धनकुटाकाे चुलिबन क्षेत्रमा परीक्षणका लागि तयारी गरिएकाे प्याराग्लाइडिङ ।

यो दृश्य ठिक एक वर्ष अघिको हो । नगरका सम्भाव्य पर्यटकीय स्थलको उजागर गर्न जनप्रतिनिधि तल्लीन थिए । धनकुटाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको चुलिबनलाई थप आकर्षक बनाउन के गर्ने भन्ने अन्योल पछि हावामा कावा खाँदै प्याराग्लाइडिङ गर्ने र याक्चाना टारको तमोर नदी छेउ उत्रिएर र्याफ्टिङमा जल मनोरञ्जन लिन सकिन्छ भन्ने विज्ञको राय आएपछि नगरप्रमुख तामाङ उत्साहित हुँदै अघिल्लो साल चुलिबन पुगेका थिए । तर, मौसमको प्रतिकुलताले प्याराग्लाइडिङको उडान सफल भएन । ‘हामी निरन्तर प्रयास गर्नेछौँ, विज्ञहरूले सकिन्छ भनेर ठम्याएपछि ढिलो चाँडो काम गरेरै छाड्छौँ।’ एक वर्ष अघि मेयरले यस्तो प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो बिचमा नगरले विज्ञको रायअनुसार चुलिबनमा प्याराग्लाइडिङ उडानका लागि आवश्यक पूर्वाधार बनायो । टेकअफ (उड्ने) स्थानको सहज व्यवस्था भएपछि आज पाइलट राम राईले स्थानीय शिक्षक नवीन केसीलाई लिएर उडे । नगरका प्रमुख प्रशासकीय अधिृकत सुरेन्द्र थापामगरले उत्साहित हुँदै भने ‘नगरको समग्र विकासको सम्भावना खोजी अनुरूप प्याराग्लाइडिङ पनि एक हो, यसले यहाँको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्छ भन्ने हामीलाई विश्वास छ ।’

चुलीबनलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै विभिन्न संरचना निर्माण गरिरहेको नगरपालिकाले प्याराग्लाइडिङलाइ थप आकर्षणको रूपमा राख्ने भएको छ । चुली बन क्षेत्र मात्र नभएर अन्य पर्यटकीय क्षेत्रको पहिचान गरेर व्यावसायिक रूप दिने प्रयास जारी राख्ने नगरको योजना रहेको छ । नगरको आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले भने–‘सम्भावना बोकेका विभिन्न स्थानको पक्षिण जारी छ, हामीलाई विज्ञले राय प्रस्तुत गरेपछि नगरले त्यसको व्यवसायिकतामा जोड दिन्छ ।’ उनकाअनुसार चुली बन क्षेत्र मात्र नभएर नगरभित्रका अन्य स्थानबाट पनि यस्तै साहसिक खेलको परीक्षण गरिनेछ । अध्ययन सम्पन्न भएका स्थानलाई निरन्तर परीक्षण गर्ने र विज्ञको सुझावका आधारमा व्यावसायिक रूप दिइने छ ।

paraglading-dhankuta-pradeshportal (2)
एक वर्षअघि धनकुटाकाे तमाेर नदी क्षेत्रकाे याक्चना घाट नजिक प्याराग्लाइडङ ल्याण्डिङ गर्ने ठाउँकाे स्थलगत निरिक्षण गर्दै विज्ञसहितकाे टाेली ।

प्र्राविधिकको अध्ययनले सम्भावना ठानेको यो स्थानको प्याराग्लाइडिङ उडानलाई अझै एक वर्ष सम्म निरन्तरता दिने योजना छ । प्याराग्लाइडिङका पाइलट राम राईले नगर क्षेत्र भित्रका अन्य सम्भाव्य स्थानलाई खोज्दै व्यवसायिकतामा टेवा पुग्ने गरी निरन्तर सहयोग गर्ने जानकारी दिए ।

चुलिवन डाँडाबाट प्याराग्लाइडिङ गराएर तमोर नदीको किनार याक्चनाटारमा अवतरण गर्ने गरी नयाँ नवीन स्थानको पहिचान भएको हो । त्यहाँबाट रोमाञ्चक र्याफ्टिङ गर्दै कोसी राजमार्गको मुलघाट स्थित विश्रान्ती मन्दिर छेउसम्म आउने पर्यटकीय प्याकेज बन्ने सम्भावनाको पहिचान गरेर यो कार्यको थालनी भएको हो ।