इटहरीः इटहरीमा असार १४ गते हुने उद्योग वाणिज्य सङ्घको चुनावी रौनक बढेको छ । ६ हजार ९५ मतदाता भएको चुनाव उवा सङ्घको चुनावजस्तो मात्रै छैन । स्थानीय तह वा संसदीय चुनावझैँ देखिएको यो चुनावमा वर्तमान कार्यसमितिका वरिष्ठ उपध्यक्ष शैलेश बिष्ट र कार्यसमिति सदस्य भीम पौडल २ भिन्न प्यानल लिएर चुनावी मैदानमा छन् ।
तीन वर्षे कार्यकालको उवा सङ्घको पछिल्लो चुनावभन्दा २ हजार मतदाता बढेसँगै चुनावी अड्कलबाजी पनि फरक भएको छ । कुन प्यानलले जित्न सक्छ भन्ने अनुमान अहिले छैन । यद्यपि, कुन प्यानलको कुन पक्ष बलियो भन्ने चाहिँ सतहमा आएका दृश्यबाट देख्न सकिन्छ ।

बिष्ट प्यानलको बलियो पक्षः पपुलारिटीदेखि समावेशी उम्मेद्वारसम्म

शैलेश बिष्ट प्यानलको बलियो पक्ष भनेको बिष्टको व्यक्तिगत ख्याति हो । एक कल फोन गरेको आधारमा व्यवसायीको सटरसम्म पुग्ने र सकेको सहयोगको सक्रियता देखाउने बिष्ट ‘पपुलर’ छन् । विगतमा चुनावमा उनले पाउँदै आएको पपुलर मतले पनि यो कुराको पुष्टि गर्छ ।
साना, मझौलादेखि ठूला व्यावसायिक घरानासँग बिष्ट परिचित छन् । इटहरीमै जन्मेर विगत २ दशकदेखि व्यवसायमा र १ दशकदेखि सामाजिक सङ्घसंस्थामा सक्रिय बिष्टलाई इटहरीका पुरानादेखि नयाँ सबैजसो व्यवसायीले चिन्छन् । बिष्टले धेरै व्यवसायीको नाम र अनुहार चिन्छन् । यो उनको बलियो पक्ष हो ।
बिष्ट मात्रै होइन बिष्ट प्यानलमा पनि केही पपुलर अनुहारहरू छन् । गत चुनावमा एक्लै उठ्दा ९ सय भन्दा बढी मत ल्याएका व्यवसायी देवराज मादेनदेखि सहकारी र सामाजिक क्षेत्रमा सयौँमा परिचित फणिन्द्र मगर जस्ता पपुलर व्यवसायी बिष्ट प्यानलमा छन् । समावेशीताको पक्षमा पनि बिष्ट प्यानल बलियो छ । उदाहरणको लागि, बिष्ट प्यानलमा विभिन्न ५ जनाजनजातिहरूको उम्मेद्वारी छ । यही कारणले बिष्ट प्यानलले आफ्नो घोषणापत्रमै समावेशी प्यानल भन्दै आएको छ ।
महिला सदस्यमा पुनम थापा मगर, वाणिज्यतर्फको पदमा रितेश श्रेष्ठ, देवराज मादेन र फणिन्द्र मगर जनजाति उम्मेद्वार रहेका छन् । यस्तैगरी, उद्योगमा सुरज आङ्देम्बे जनजाति उम्मेदवार छन् । १९ सदस्यीय प्यानलमा ५ जना परिचित व्यावसायिक क्षेत्रका जनजाति उम्मेद्वार बिष्ट प्यानलमा मात्रै छन् । जनजातिसँगै इटहरीको व्यवसायमा परिचित किसन खेडियाजस्ता मारवाडी समुदायका उम्मेद्वार बिष्ट प्यानलमा छन् ।
वर्तमान कार्यसमितिमा बहुमत हुनु र त्यसको साङ्केतिक प्रभाव पनि बिष्ट प्यानलको बलियो पक्ष हो । पार्टीगत रूप लिएको उवा सङ्घ चुनावमा बलियो पार्टीको रूपमा पूर्व एमाले र पूर्व माओवादी सङ्गठित भएर बनेको नेकपाको समर्थन रहनु पनि बिष्ट प्यानलको बलियो पक्ष हो ।

पौडेल प्यानलको बलियो पक्षः आक्रामक प्रचारदेखि सङ्गठित अभियानसम्म

भीम पौडेल चिनिएका व्यवसायी हुन् । तर, उनको व्याक्तिगत चिनजान आम व्यवशायीसँग चुनावअगाडिसम्म ‘फेस टु फेस’को अवस्थामा थिएन । अहिले आक्रामक चुनावी प्रचारले पनि उनलाई चिन्नेको सङ्ख्या ह्वात्तै बढाएको छ ।
प्रचारमा पौडेल प्यानल बलियो छ । चाहे सबै उम्मेद्वारको व्यक्तिगत प्रचार सामग्री होस् वा विभिन्न आम सञ्चार र सामाजिक सञ्जालमा होस्, पौडेल प्यानलको प्रचार बलियो देखिएको छ । कतिसम्म भने केही मिडियाहरूमा भीम पौडेलले जित्न सक्ने आधार भन्दै पनि प्रचार भएका छन् । ६ हजार ५ मतदाता भएको चुनावमा केही व्यक्ति, केही विश्लेषण र केही अनुमानले मात्रै फलानोले जित्छ भन्न सकिन्नँ । पौडेल प्यानल भने जितिहालेको जस्तो प्रचार गर्न सफल भएको छ । त्यो पनि आम सञ्चार मार्फत् ।
यत्तिमात्रै होइन, सङ्गठित प्रचारमा पनि पौडेल प्यानल आक्रामक देखिएको छ । अध्यक्षबाहेकका अन्य उम्मेद्वारहरूका निजी भोटरसँग मिहिनेतपूर्वक भोट माग्ने काममा सक्रियता पौडेल प्यानलको छ । यस्तैगरी, भीम पौडेलले नेकपा निकट तथा बिष्ट प्यानलका व्यवसायीहरूसँगै पनि व्यापारिक साझेदार गरेको र त्यो मत आउन सक्नेसम्मका चुनावी चर्चा गर्न पौडेल प्यानल सफल छ ।
पौडेल पक्षको अर्को बलियो पक्ष भनेको सेलिब्रेटी महिला उम्मेद्वार हुन् । चाहे व्यावसायिक चुनावमा आउनु अगाडि नै इटहरीमा सार्वजनिक छवि बनाइसकेकी शोभा कोइराला (सविना) हुन् वा यसअगाडि एक छापे मत बदर भएको कारणले प्राविधिक रूपमा चुनाव जित्न असफल गायत्री भण्डारी (कट्वाल) हुन् । दुवै सेलिब्रेटी उम्मेदवारको व्यक्तिगत पपुलारिटीले पौडेल प्यानललाई केही फाइदा हुन सक्छ । अध्यक्ष र महिला सदस्यमा समान मतदाता हुने भएकाले यो पपुलारिटीले केही फाइदा गर्न सक्छ ।
यस्तैगरी, लोकतान्त्रिक प्यानल नाम दिइएको पौडेल प्यानलको पक्षमा इटहरी काङ्ग्रेसको सक्रियता नेकपाको भन्दा बढी देखिन्छ । यो कोणमा पौडेल प्यानल बलियो देखिन्छ ।