पथरीः प्यारालाइसिसका कारण थलिएकी ६२ वर्षीया पत्नी नरमाया चौहानको स्वास्थ्य उपचार खर्च घरखर्च चलाउन नसक्दा नरबहादुर चौहान उदास हुन्थे । पथरीशनिश्चरे–२ का ६७ वर्षीय चौहानको लागि स्थानीय हरियाली सामुदायिक वन उपभोक्ता समूहले घर बनाइदिन शुरु गरेपछि भने उनी खुशी भएका छन् ।
समूहले अति विपन्न उपभोक्ताको लागि गरिबी निवारण शीर्षकको आवास कार्यक्रममार्फत् उनको परिवारको लागि घर निर्माण गरेपछि उनी खुशी भएका हुन् । हावाहुरीले छाप्रो उडाउने त्रास र बर्खायाममा पानी चुहिने समस्या अब अन्त्य हुने भएकाले उनी खुशी भएका हुन् । जीर्ण अवस्थामा रहेको बाँसको घरमा बसी गाउँलेबाट सहयोग जुटाई बिहान र बेलुकाको छाक टार्दै बिरामी पत्नीको स्याहार गरिरहेका उनलाई वन समूहले निर्माण गरिदिएको नयाँ घर वरदान साबित हुनेछ ।
वन समूहले घर निर्माण कार्यको थालनी गरेसँगै चौहान दम्पत्ति दङ्ग छन् । उनीहरुमा खुशीको सीमा छैन । ‘दुःख–सुख जमिन जोडेर एउटा फुसको छाप्रो बनाएको थिएँ,’ नरबहादुरले पीडा सुनाउँदै भने, ‘फुसको घरमा बस्दा हावाहुरीले उडाउने डर, बर्खायाममा पानी चुहिने, जाडोमा चिसोको डर ।’
नरबहादुरजस्तै बाँसको टाटीले बारेको सामान्य एक कोठे घरमा पकाउने, खाने, बस्ने र सुत्ने गरेका अर्का उपभोक्ता ५८ वर्षीय रामबहादुर राई पनि घर पाउने भएपछि दङ्ग छन् । उनको सुरक्षित घरमा बस्न पाउने इच्छा थियो तर पूरा भने हुन सकेको थिएन । बाख्रापाठा पालेर सामान्य नुनभुटुनको जोहो गरी दैनिक गुजारा गर्दै आएका राईको चाहना वन समूहले पूरा गरिदिएको छ ।
जसोतसो आफैंले जोडेको १२ धुर जमिनमा एउटा सानो फुसको छाप्रो हालेर बसेका थिए रामबहादुर । उनको घर पुग्ने सडक छैन, खेतको आलीबाट हिंडडुल गर्नुपर्छ ।
समूहमा सूचीकृत विपन्न परिवारमध्ये अति विपन्न परिवारलाई लक्षित गरी पहिलो चरणमा उक्त आवास कार्यक्रम शुरु गरिएको समूहका सह–सचिव रमेश दाहालले जानकारी दिए । सह–सचिव दाहालका अनुसार समूहले ४ लाख रुपैयाँका दरले २ वटा घर निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।
अति विपन्न उपभोक्ताको लागि शुरु गरिएको आवास कार्यक्रमलाई आगामी दिनमा पनि समूहले निरन्तरता दिने समूहका अध्यक्ष काबुलबहादुर मगरले प्रतिबद्धता व्यक्त गरेका छन् । आवास कार्यक्रमसँगै अति विपन्न तथा विपन्न उपभोक्ताको जीवनस्तर उकास्न विभिन्न आयमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।
त्यसैगरी समूहले समय–समयमा विपन्न घरपरिवारलाई निःशुल्क रूपमा हलो, खाट, वितरण गरिरहेको छ । साथै तरकारी खेती गर्ने किसानहरूलाई तालीम दिइसकेको छ । बेमौसमी तरकारीको लागि टनेलसमेत निःशुल्क वितरण गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष मगरले जानकारी दिए ।