इलामः चियाको राजधानीको रूपमा चिनिएको सूर्योदय नगरपालिकाका चिया उद्योगहरू बन्द गर्ने उद्योगीहरूले निर्णय गरेका छन् ।

नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियो पत्ती किन्न नसक्ने भन्दै चिया उद्योगीहरूको सङ्गठन सूर्योदय टी एसोसिएसनले आफूसम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेका हुन् । नगरपालिका चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि २०७५ मा हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ कायम गरिएको छ । तर, उद्योगीहरूले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले पनि नगरपालिकाले तोकेको दररेट किसानलाई दिन नसक्ने भन्दै बरु कारखाना बन्द गर्न सहमत भएका हुन् ।

एसोसिएनले नगरपालिकामा पठाएको पत्रमा असार १२ गतेदेखि कारखाना बन्द गर्ने उल्लेख गरिएको छ । उद्योगीले यसअघि हरियो चियापत्तीको गुणस्तरका आधारमा मूल्य दिँदै आएका थिए । तर, यस पटकदेखि उद्योगीसँग कुनै छलफल नगरी नै नगरपालिकाले एकलौटी ढङ्गले मूल्य तोकेको भन्दै विरोधस्वरूप उद्योग बन्द गर्नुपरेको पनि कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए ।

चिया किसानले उद्योगीलाई दुई पात एक सुइरो हरियो चियापत्ती उपलब्ध गराउनुपर्नेमा त्यसो नभइरहेको अवस्थामा नगरपालिकाले अनुगमन गर्नुको सट्टा उल्टै नियममात्र लागू गरेर उद्योग धराशायी बनाउन लागेको उद्योगीहरूको आरोप छ । चिया उद्योगीहरूको पीर मर्कालाई कहिल्यै नबुझेको राज्यले सेवा सुविधा दिनुपर्नेमा उल्टै मूल्य तोकिँदा उद्योग धराशायी बन्न पुगेको उल्लेख गर्दै नगरपालिकाले पनि माग सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ । चियाको निर्विकल्प बजार भारत रहेकाले तयारी चियाको बिक्री मूल्यले लागत धान्न नसक्ने उनीहरूको भनाइ छ ।

एसोसिएनमा आबद्ध ५२ वटा उद्योगले चियाको गुणस्तरलाई मध्यनजर गरेको खण्डमा उनीहरूले नगरपालिकाले तोकेअनुसारको दररेट चिया किसानलाई दिन तयार रहेको पनि बताएका छन् । नगरपालिकाले गुणस्तर चिया उत्पादनमा पहल नगर्ने हो भने कम गुणस्तरअनुसारकै रकम उद्योगीले तिर्ने चिया उद्योगीले बताउँदै आएका छन् ।

उनीहरूले चियापत्तीको गुणस्तरको अनुगमन गर्न पनि नगरपालिकासमक्ष माग गरेका छन् । सूर्योदय नगरपालिकाबाट उत्पादन हुने अर्थोडक्स चियाको गुणस्तर खस्कँदै गएकाले पनि बाध्य भएर उद्योगीहरूले कारखाना बन्द गर्नुपरेको पनि बताएका छन् । टी एसोसिएनले बारम्बार सरकारसँग चियामा अनुदानको माग राख्दै आएको छ ।

गत जेठको पहिलो साता चिया मजदुरहरूको समस्या समाधानमा इलाम आएका श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टसँग २५ बँुदे माग राख्दै चिया क्षेत्रमा १५ प्रतिशत अनुदान र अक्सन सेन्टर स्थापना गर्नका लागि पहल गरिदिन माग गरेका थिए । नेपाली चियाको आफ्नै क्लोन नहुँदा ब्रान्डिङ गरेर बेच्न समस्या भएको उल्लेख गर्दै उनीहरूले अर्गानिक प्रमाणीकरणलगायत कार्यमा अनुदानको माग राखेका थिए ।

सूर्योदय नगरपालिकामा मात्र ४५ हजार रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । सो क्षेत्रबाट वार्षिक २ लाख केजी तयारी चिया भारतलगायत विभिन्न मुलुकहरूमा निर्यात हुने गरेको छ ।

चिया उद्योगीहरूको उद्योग बन्दको निर्णयले किसानहरू मारमा पर्ने देखिन्छ । चिया किसान डम्बर कटुवाल चिया उद्योगीको निर्णयले किसानहरूलाई समस्या थपेको गुनासो राख्छन् । ‘अहिले सेकेण्ड फल्सको चिया उत्पादन भइरहेको छ रेनी आइसकेको छैन,’ उनले भने, ‘गुणस्तरकै चिया उत्पादन भए पनि उद्योगको निर्णयले हातमुख जोर्न समस्या देखियो । सम्बन्धित निकायले चाँडै समस्या समाधान गरोस् ।’