धनकुटा/ धनकुटा बजारनजिकै वडा ७ र ८ मा फैलिएर रहेको छ, चुलीवन । चुलीवन क्षेत्रमा तीन सामुदायिक वन पनि पर्छन् । यही चुलीवनलाई धनकुटा नगरपालिकाले केन्द्रित गरेर पर्यटन विकासको अवधारणा अघि सारेको छ ।
नगरका अनुसार चुलीवनको पर्यटकीय गुरुयोजना बनाएर पर्यटन प्रवद्र्धन तथा विकास गर्ने योजना छ । धनकुटाले पाँचवर्षे पर्यटकीय गुरुयोजना बनाउनेक्रममा साहसिक खेल पर्यटनअन्तर्गतको प्याराग्लाइडिङ र ¥याफ्टिङलाई जोडेर प्याकेजमै साहसिक पर्यटनको विकासको अवधारणा बढाएको हो । नगरपालिकाका पर्यटन शाखा अधिकृत विकास अधिकारीका अनुसार चुलीवनबाट प्याराग्लाइडिङको उडान गर्ने र याक्चना घाटमा ल्यान्डिङ गर्ने गरी उडान परीक्षणको तयारी भइरहेको छ ।
‘प्याराग्लाइडिङको ल्यान्डिङ भएपछि पर्यटकलाई त्यहाँ (याक्चना घाट)बाट मूलघाटसम्म ¥याफ्टिङ गराउने गरी दुवै साहसिक पर्यटनको एउटै प्याकेज बनाउने हाम्रो योजना हो,’ अधिकारीले भने, ‘यसका लागि उडान परीक्षणको तयारी हुँदैछ, एकपटक मौसमका कारणले हुन सकेन । तर, ¥याफ्टिङको सफल परीक्षण भइसकेको छ ।’
पर्यटन अधिकृत अधिकारीका अनुसार बुधबार धरानस्थित बूढासुब्बा प्याराग्लाइडिङ प्रालिको प्राविधिक टिमले चुलीवनस्थित उडानस्थल र याक्चना घाटस्थित अवतरणस्थलको स्थलगत अध्ययन गरेको थियो । सो टोलीले दुवै स्थान उपयुक्त भएको ठहर गरे पनि मौसमको प्रतिकूलताले गर्दा परीक्षण उडान भने गर्न सकेन । अब एक साताभित्रै चुलीवनबाटै प्याराग्लाइडिङको परीक्षण उडान हुने उनले बताए ।
‘प्याराग्लाइडिङका लागि उडान गर्न सकिन्छ भनेकाले हामी उत्साहित छौं, अब एक साताभित्रै फेरि टेस्ट फ्लाइट गर्छौं,’ अधिकारीले भने ।
मौसम प्रतिकूल भएर बुधबार प्याराग्लाइडिङको परीक्षण उडान हुन नसके पनि याक्चना घाटदेखि मूलघाटसम्म भने ¥याफ्टिङ भएको थियो । इटहरीस्थित रिभर डिप ¥याफ्टिङले धनकुटाका विभिन्न वडाका अध्यक्ष र पत्रकारलाई ¥याफ्टिङ गराएको थियो । रिभर डिपका सञ्चालक सुरेश बस्नेतले प्याराग्लाइडिङ परीक्षण हुन नसके पनि भविष्यमा धनकुटाले प्याराग्लाइडिङ र ¥याफ्टिङलाई एउटै प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना भएको प्रतिक्रिया दिए ।
उनले भने, ‘तमोरमा ¥याफ्टिङ भइहाल्छ, अझ चुलीवनबाट प्याराग्लाइडिङ गरेर झर्ने र ¥याफ्टिङ पनि गर्ने प्याकेज बनाउने हो भने त पर्यटक थप उत्साहित हुन्छन् ।’
प्याराग्लाइडिङ पाइलट रामप्रसाद राई त प्याराग्लाइडिङको ल्यान्डिङस्लथ तमोर किनारमा भएकाले पर्यटक उडेर झरेपछि एक रात त्यही क्याम्प फायर बस्ने र भोलिपल्ट मात्र ¥याफ्टिङ गर्दै मूलघाट वा चतरासम्म पुग्ने प्याकेज बनाएर बिक्री गर्न सकिने सम्भावना रहेको औल्याउँछन् ।
‘चुलीवनबाट उड्ेर झर्ने, तमोर किनारमा क्याम्प फायर गरेर बस्ने अनि भोलिपल्ट बिहान मात्र ¥याफ्टिङ गर्दै घर जाने प्याकेज पनि चल्न सक्छ,’ पाइलट राईले भने । याक्चना घाटबाट मूलघाट करिब ५ किलोमिटर दूरी छ । ¥याफ्टिङमा करिब एक घन्टा समय लाग्छ ।
युवालाई तालिम दिएर दक्ष बनाउने
धनकुटाको वडा ८ र चुलीवन क्षेत्र आठपहरिया राईहरूको सघन बसोबास भएको क्षेत्र पनि हो । आठपहरिया राईहरू धनकुटाको सीमित क्षेत्रमा मात्र पाइन्छन् । उनीहरू आर्थिक, सामाजिक रूपमा भने पछाडि छन् । त्यसैले नगरपालिकाले भविष्यमा पर्यटनको क्षेत्रमा यही समुदायका युवालाई तालिम दिएर दक्ष बनाउने र रोजगार दिने योजना पनि बनाएको छ ।
‘प्याराग्लाइडिङ र ¥याफ्टिङ व्यावसायिक रूपमा बढाउन सक्दा युवालाई तालिम दिएर दक्ष बनाउछौं । र, त्यही जनशक्तिलाई सदुपयोग गर्छौं,’ पर्यटन अधिकृत अधिकारीले भने, ‘चुलीवन आठपहरिया राईहरूको विशेष क्षेत्र हो, मूलघाटमा विश्रान्ती मन्दिर छ, यो पर्यटन प्याकेजले धार्मिक, सांस्कृतिक पर्यटनको प्रवद्र्धन पनि हुन्छ भन्ने आशा राखेका छांै ।’
वडा ८ का अध्यक्ष सुमन राईका अनुसार नगरले आठपहरिया राईहरूको घरमा होम स्टे सञ्चालन गर्ने योजना पनि बनाएको छ । चुलीवनमा संग्रहालय स्थापना गर्ने र आठपहरियाको घरमा होम स्टे बनाएर उनीहरूको संस्कृति अध्ययन गर्न पर्यटकलाई आकर्षित गराउने नगरको योजना हो ।
‘पर्यटनको बृहत् विकास गर्न चुलीवनको गुरुयोजना बन्दैछ, त्यसैअन्र्तगत यी सबै काम हुन्छन्,’ अध्यक्ष राईले भने ।