पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेट जनमुखी बजेट नभएको सरोकारवाला बताउँछन् । नगरपालिकाले जम्मा ७२ करोड ५२ लाख ६४ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १७ करोड १२ लाख, सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदान १७ करोड ८१ लाख, सङ्घीय सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त ११ करोड ३२ लाख रुपैयाँका साथै प्रदेश सरकारबाट प्राप्त अन्य रकम र आन्तरिक आयस्रोतबापत ४ करोड ९७ लाख ३० हजार रुपैयाँ अनुमान गरी बजेट ल्याइएको हो ।
गत वर्ष ६० करोड २९ लाख २७ हजारको आय अनुमान गरिँदा वडामा ८५ लाखको बजेट सिलिङ थियो । यस वर्ष प्रत्येक वडाका लागि १ करोडको बजेट सिलिङ प्रदान गरिएको छ । गत वर्ष भन्दा झन्डै ११ करोड बढी आय अनुमान गरिएको बजेटले सवै क्षेत्रलाई नसमेटेको स्थानीय बताउँछन् ।
बजेट कनिका छरेजस्तोः उवा सङ्घ अध्यक्ष बस्नेत
नगरपालिकाले विनियोजन गरेको आर्थिक वर्षको बजेट विभिन्न शीर्षकमा कनिका छरेजस्तो छरिएको पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत बताउँछन् ।
बस्नेत नगरले सार्वजनिक गरेको बजेटको विषयमा उद्योग वाणिज्य सङ्घ अनभिज्ञ रहेको बताए । उद्योग वाणिज्य सङ्घ नगरपालिकाको राजस्व परामर्श समितिको सदस्य रहने व्यावस्था भए पनि हाल विनियोजन गरेको बजेटमा सङ्घलाई सहभागी नगराइएको उनले बताए ।
स्थानीय तहलाई आन्तरिक स्रोत सङ्कलन गर्नसमेत अधिकार दिए पनि त्यसको पूर्ण उपयोग नभएको सङ्घले जनाएको छ । चालु् आर्थिक वर्षमा खर्च नभएर रहेको मौज्दात रकमलाई पनि स्रोत मानेर स्थानीय तहले बजेट बनाउन सक्ने प्रावधान संविधानमा रहेको छ ।
नगरपालिकाले विभिन्न ४० शीर्षकमा बजेट विनियोजन गरेको छ । त्यसमध्ये स्वास्थ्य, शिक्षा र कृषिमा क्रमश १ करोड ७५ लाख २० हजार, १ करोड १९ लाख ७५ हजार ५ सय र ५१ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ ।
स्वास्थ्य, शिक्षा र कृषिमा पनि कम बजेट विनियोजन भएको गुनासोः
स्वास्थ्य क्षेत्रमा विनियोजित भएको बजेट झारा टार्ने खालको मात्र भएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्य बताउँछन् । यो रकम स्वास्थ्य क्षेत्रमा अपुग रहने बताउँछन् ।
पथरीमा २८ ओटा सामुदायिक विद्यालय रहेका छन् । जसको शैक्षिक स्तर असमान रहेको छ । नगरले बजेट विनियोजन गर्दै नगरको शैक्षिक संस्थाको अवस्थालाई समेत ख्याल नगरी शीर्षक भर्नका लागि बजेट विनियोजन गरेको जस्तो देखिएको शिक्षक महासङ्घका अध्यक्ष अर्जुनकुमार बुढाथोकी बताउँछन् । विनियोजित रकमले नगरको शैक्षिक स्तर उकास्न नसक्ने उनको भनाइ रहेको छ ।
नगरको लगभग ८० प्रतिशत जनसङख्या कृषि पेशामा आबद्ध रहेको छ । उद्योग र वाणिज्य बाहेकको नगरको अर्को आर्थिक मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रलाई हेर्न सकिन्छ । तर यहाँ विनियोजित भएको रकम हेर्दा नगरपालिकाले कृषि पेशामा आबद्ध भएकालाई न्याय गरको नदेखिने कृषि क्षेत्रका विज्ञ बताउँछन् ।
नगरपालिकाले स्थानीय सरोकारवाला पक्षसँग कुनै राय परामर्श नगरी ल्याएको बजेटको यति बेला चौतर्फी विरोध हुन थालेको छ । नगरपालिकाले नगरको समृद्धिका लागि ल्याएको बजेट जनमुखी भन्दा पनि जनप्रतिनिधिमुखी भएको पथरी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष विजय डाँगी बताउँछन् ।
लामो समयदेखि राजनीति गर्दै आएका नेकपाका युवराज बास्कोटाको राय पनि यस्तै रहेको छ । ‘बजेट निर्माण र सार्वजनिकीकरणमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला पक्ष सबैलाई बन्देज लगाएर ल्याएको बजेटभित्र चलखेल भएको सहज अनुमान लगाउन सकिने उनको भनाइ छ ।