झापाः मेची भन्सार कार्यालय काँकरभिट्टा भएर भारतबाट आयात हुने हरियो तरकारीमा कमी आएको छ । तर, फलफूल आयात भने सन्तोषजनक छ । तरकारी र फलफूलमा अनिवार्य विषादी अवशेष परीक्षणको व्यवस्था गरिएपछि यो नाका हुँदै भारतबाट आयात हुने हरियो तरकारीमा कमी आएको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

तरकारी तथा फलफूल आयातकर्ताले विषादीरहित प्रमाण ल्याएपछि मात्रै भन्सार कार्यालयले सम्बन्धित ठाउँसम्म लैजाने अनुमति दिने नियम बनाएको छ । तर, काँकरभिट्टामा विषादीको परीक्षण गर्ने प्रयोगशाला विषादी अवशेष द्रुत परीक्षण इकाई नहुँदा व्यवासायीहरु १७ किलोमिटर टाढा बिर्तामोड पुग्नुपर्ने अवस्था छ ।

‘केही दिनयतादेखि यो नाका भएर भारतबाट आयात हुने हरियो तरकारीमा कमी आएको छ,’ कार्यालयका बाली संरक्षण अधिकृत सुरेशकुमार शाहले भने, ‘क्वारेन्टाइन कार्यालयले कृषिजन्य उपजको रोगकीराको मात्रै जाँच गर्ने गरेको छ । विषादीको परीक्षणका लागि बिर्तामोडस्थित विषादी अवशेष द्रुत परीक्षण इकाइमा पुग्नुपर्छ ।’

सिजनमा दैनिक १० देखि १५ बेमौसममा समेत ८ देखि १० ट्रक हरियो तरकारी आयात हुने गर्दथ्यो । केही दिन यतादेखि १ ÷२ ट्रकमात्र हरियो तरकारी आयात हुने गरेको छ । तर, फलफूलको आयातमा भने कुनै कमी आएको छैन ।

सम्बन्धित समाचारः

१. अन्याैलमा भन्सारः सयाैँ ट्रक भारत फर्किंदै , कसले जाच्ने विषादी ?