इटहरीः इटहरी उपमहानगरपालिकाले १ वर्षभित्र हिलोमुक्त र ३ वर्षभित्र धुलोमुक्त नगर बनाउने अभियान शुरु गर्ने भएको छ । आर्थिक वर्ष २०७६–७७ को बजेट, नीति तथा कार्यक्रममा पारित भए अनुसार हिलो र धुलोमुक्त इटहरी बनाउने अभियान शुरु गर्न लागिएको हो ।

बजेट, नीति तथा कार्यक्रम पारित भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो । कार्यक्रममा इटहरीका सबै मूल बाटा १ वर्षमा हिलोमुक्त र ३ वर्षमा धुलोमुक्त बनाउने अभियानलाई उच्च प्राथमिकता दिइएको छ ।

यस वर्ष थालनी भएका ११ वटा बहुवर्षे योजनाको २५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने काम आगामी वर्ष ७० प्रतिशत सम्पन्न हुने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उपमेयर लक्ष्मी गौतमले ४२ किलोमिटर बाह्य चक्रपथ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी प्रक्रिया थालिने बताइन् ।

३ वर्षभित्र डेढ सय किलोमिटर सडक कालोपत्रे गरिने उनको भनाइछ । सडक लगायत सार्वजनिक निर्माण कार्यको गुणस्तर मापन गर्न गुणस्तर मापन ल्याब स्थापना गरिने भएको छ । सवारी पार्किङलाई व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण गर्न लागिएको उनले बताइन् । स्मार्ट पार्किङ कसरी गर्ने भन्ने बारेमा उपमहानगरले विज्ञहरूसँग परामर्श लिइरहेको उनको भनाइछ ।

इटहरी उपमहानगरको पाँचौँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । ‘सुशासन र समृद्धि हाम्रो अभियान, भ्रष्टाचारविहीन, सरल, सहज र पहँुचयुक्त इटहरी नगर प्रशासन’ भन्ने नारा उपमहानगरले तय गरेकोछ ।

१ अर्ब ८५ करोड ५० लाख रुपैयाँको आयव्ययको अनुमान असार २४ गतेको पाँचौँ नगरसभाको चौथो बैठकले सर्वसम्मत पारित गरेको विज्ञप्तिमा उल्लेख छ । बजेटमा चालुतर्फ ७९ करोड ४ लाख ५५ हजार, पूँजीगततर्फ १ अर्ब ५ करोड, ७५लाख ५४ हजार र वित्तीय व्यवस्थातर्फ ७० लाख व्यय हुने अनुमान गरिएको छ ।

बजेटले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षी विकास, उद्योग व्यापार, पर्यटन, खेलुकद र सामाजिक विकासमा प्राथमिकता दिएको गौतमले बताइन् । बजेट नीति तथा कार्यक्रममाथिको छलफलमा २२ जना नगरसभा सदस्यले सुझाव दिएका थिए ।

चालु नगरसभाबाटै सुशासन ऐन पारित गरिने भएको छ । सो ऐनमा कर्मचारीको क्षमता अभिवृद्धि तथा पुरस्कार र दण्डको व्यवस्था गरिने उपमहानगरको योजना छ । सार्वजनिक जग्गा खोजी अभियानलाई निरन्तरता दिइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस विषयमा पत्रकारका प्रश्नको उत्तर दिँदै मेयर द्वारिकलाल चौधरीले सार्वजनिक जग्गा खोज्ने काम अभियानकै रूपमा योजनाबद्ध ढङ्गले लैजाने बताए ।शुरुमा सचेतना जगाउने, दोस्रो पटक प्रतिरोध गर्ने र अन्तिम पटक द्वन्द्वात्मक अभियान चलाएर सार्वजनिक जग्गा उपमहानगर मातहत ल्याइने योजना रहेको उनले बताए ।

जसअन्तर्गत खोला, पैनी र सडकको क्षेत्राधिकार तोकिने र क्षेत्राधिकारभित्र पर्ने जग्गामा निर्माण भएका भौतिक संरचना हटाउने अभियानलाई तीव्रता दिइने चौधरीको भनाइ छ ।

इटहरीमा रात्रीकालीन बजार, व्यवस्थित सार्वजनिक शौचालय, आधुनिक कृषि बजार, महिला उद्यमशीलताको विकासका लागि उद्यमशील विकास कोष स्थापना गर्नेदेखि इटहरी अस्पतालमा २४ घण्टे सेवा प्रदान गर्ने व्यवस्था मिलाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विपन्न परिवारलाई सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । आमा र बच्चा पोषणभत्ता १ हजार रुपैयाँ प्रदान गरिने र ‘उपमेयर सुत्केरी सेवा कार्यक्रम’अन्तर्गत अति विपन्न सुत्केरीको घरैमा गएर ३ हजार ५ सय रुपैयाँबराबरको सामग्री प्रदान गरिने उपमहानगरको कार्यक्रम छ ।

‘कोही छैननेनीचउच, शिक्षामा समान पहुँच’ भन्ने नाराका साथ दलित बालबालिकालाई विभिन्न छात्रवृत्तिको व्यवस्था गरिएको उपमेयर गौतमले बताइन् । जसको लागि १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको उनको भनाइ छ ।

गरीब, दलित, विपन्न परिवारलाई लक्षित गरी कृषि तथा पशुपालनमा अनुदान दिने व्यवस्था उपमहानगरले ल्याएकोछ । इटहरीको कटानको मुख्य समस्याको रूपमा रहेको बुढी खोला किनारमा बाँस रोप्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरी नदी नियन्त्रण गर्न १० लाख विनियोजन गरिएको छ ।

इटहरीलाई जङ्गलभित्रको शहर बनाउने अभियानलाई निरन्तरता दिन १ घर ३ बिरुवा अभियान चलाइने उपमेयर गौतमले बताइन् । उनका अनुसार नयाँ घर निर्माण सम्पन्नको कागज बुझ्न आउँदा ३ ओटा बिरुवा रोपेको हुनुपर्ने बताइन् । हरेक घरमा उपमहानगरले बिरुवा वितरण गर्ने कार्यक्रम ल्याएको उनको भनाइ छ ।