इलामः विगत ३ दिनदेखि मेची राजमार्गको राँके– फिदिम खण्डमा पहिरो झरेपछि यात्रुहरू हिँडेर गाडी फेर्नुपर्ने बाध्यता छ ।
फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा बुधबार राति पहिरो झरेको थियो । पहिरो झरेको ३ दिन बितिसक्दा समेत अझै बिनाअवरोध सवारी चल्न सकेका छैनन् ।

पाँचथर तथा ताप्लेजुङ जाने यात्रुहरू सवारी साधनबाट ओर्लिएर आधा घण्टा हिँड्दै अर्को गाडी फेरेर निर्धारित गन्तव्यसम्म पुग्नुपर्ने बाध्यात्मक स्थिति रहेको पाँचथरका ट्राफिक प्रमुख जनक तिम्सिना बताउँछन् । मेची राजमार्गमा बर्खाको समयमा बर्सेनी पहिरोको जोखिम हुने गरेको छ ।

झापा र इलामको सिमाना जोरकलशदेखि ताप्लेजुङको घारिल्लासम्मको मेची राजमार्ग खण्डमा ३ दर्जन बढी साना ठूला पहिरो रहेका छन् । मेची राजमार्गको इलाम–ताप्लेजुङ खण्डमा यस्ता थुप्रै स्थान छन्, जहाँ जुनसुकै बेला पनि प्राकृतिक प्रकोपको खतरा छ ।

ताप्लेजुङ सदरमुकाम प्रवेश गर्ने ठाउँ नजिकैको हाङ्देवा क्षेत्रमा पहिरो नगएको वर्ष नै छैन । कतिपय अवस्थामा एक सातासम्म बाटो खुल्ने आशामा पर्खनुपर्ने स्थिति रहेको छ ।

ताप्लेजुङ–पाँचथरको सिमाना काबेली नदीदेखि माथि बहानन्देसम्मको सडकलाई बढी जोखिमपूर्ण मानिन्छ । यो सडक खण्डमा सडक अवरुद्ध नभएको वर्ष छैन । वर्षाको समयमा ताप्लेजुङ–पाँचथर सडक खण्ड सबैभन्दा बढी अवरुद्ध हुन्छ ।

कमजोर भूबनोट र सडक नजिकै भौतिक संरचना बनाउने कार्यले सडक धस्ने क्रम बढ्दो छ । इलाम नगरपालिकाको माईखोला माथिको राजदुवाली क्षेत्रमा सडक धस्सिने क्रम रोकिएको छैन । बर्सेनी सडक सामान्य मर्मत गर्दा पनि पार नलागेपछि अहिले ५ करोडको लागतमा ‘रक एङरिङ’ प्रविधिबाट जोखिमयुक्त १ सय ५० मिटर सडक निर्माण गरिएको छ ।

pahiro (2) Pahiro

पहिरो रोकथाममा बजेट छैन
मेची राजमार्ग क्षेत्रको २ सय ५० किलोमिटर क्षेत्रको सडक रेखदेख गर्दै आएको डिभिजन सडक कार्यालय इलामले पहिरो रोकथामको लागि भनेर बजेट विनियोजन गरेको छैन ।

सडक मर्मत शीर्षकमा ८ करोड रुपैयाँ बजेट विनियोजन भएको डिभिजन सडकमा आपतकालीन उद्दार र मर्मतका नाममा ५ लाख रुपैयाँमात्र छुट्याइएको डिभिजन प्रमुख प्रमुख कृष्णनाथ ओझाले बताए ।

मर्मत शीर्षका विनियोजन भएको बजेट उप्किएको पिच टाल्नमै खर्च हुने गरेको छ । ‘पहिरो रोकथाम भनेर बजेट छुट्याइएको छैन,’ उनले भने, ‘चालु आर्थिक वर्षमा पहिरो बढी जाने ठाउँको पहिचान गरेर रोकथामको लागि बजेट माग गर्ने तयारी भइरहेको छ ।’ उनले साना पहिरो रोकथामको लागि तारजाली लगाउने र घाँस रोप्ने कामहरू भइरहेको बताए ।

ताप्लेजुङको खहरे, खोक्से र ल्याङबाको भागमा चट्टान धेरै खस्न सक्ने भाग हो । यसको बाहिर नै चट्टानको पत्र देखिने गरेको छ । पाँचथरको गणेशचोक, भालुचोक र पौवाभञ्याङ क्षेत्रमा पनि सानासाना पहिरो र भेलबाढीले बर्सेनी सडक भत्काउने गरेको छ । यस क्षेत्रमा ठूलो पहिरो नगए पनि ढिस्काहरू र भित्तामा अड्किएका ठूला ढुङ्गा झर्ने हुँदा घण्टौँसम्म सवारी अवरुद्ध हुने गरेको छ ।

mechi rajmarga pahiro  (2)