ए उड्न लागेका मित्र ,
मेरा प्रिय परदेशिन लागेका मित्र
मलाई फर्केर नहेरे पनि
आँशु नबगाइ जानू,
उड्दा धर्ती हेर्दै उड्नू ।

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानू ।

खाडीको बालुवा चाल्दा
माटो फेरि भेटिएला नभेटिएला
के थाहा गएको मानिस,
बगेको नदी
फर्केला नफर्केला
आकाशमुनि बादल पुग्न लाग्दा
झ्यालबाट धर्तीतर्फ चिहाएर भए पनि हेर्नू ।
के थाहा बाकसमा फर्किँदा
न धर्ती देखिन्छ
न मित्र।
कसलाई के थाहा ?
कोको फर्किनेछ बाकसभित्र।
साथी नबिर्सी पठाउनू
आमालाई आवाज र प्रियालाई शरीरको चित्र

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानू

ए उड्न लागेका मित्र
मेरा प्रिय परदेशिन लागेका मित्र
मलाई फर्केर नहेरे पनि
आँशु नबगाई जानु,
उड्दा धर्ती हेर्दै उड्नू ।
कसलाई के थाहा?
भोलि आँखा नहुने हो कि दिन नरहने हो?

सजिलो छैन परदेशमा सुन कमाउन
सक्लाउ, नसक्लाऊ नुन समाउन
खोले पीठो यतै बारी खोस्री खानू
भारी नै बोक्न परदेश किन जानु ?

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानू ।

प्रिय मित्र , म गाउँमै हुन्छु
तिम्रा छोरा छोरी पढाउँछु
बुढी आमालाई गाउँमै छाडेर
बिन्ती मित्र, श्रीमतीलाई शहर नपठाउनू
म छु नि गाउँमा छोराछोरी यहीँ पढाउनू ।

तिमी परदेश गएपछि खेतपाखा बाँझो पल्टिनेछन्
घरमा रावणले आँखा तर्लान्
जङ्गली स्याल र गिद्धहरूको छाया पर्न सक्छ
नरोपी उम्रिएको पीपलले पनि सह दिँदैन भन्छन्
प्रिय मित्र, सीताजस्ती तिम्रै सती
तिमी नहुँदा तिम्रो घरले मात्र सह दिँदैन भन्छिन् ।

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानू
खाडीको बालुवा चाल्दा
माटो फेरि भेटिएला नभेटिएला
के थाहा गएको मानिस
बगेको नदी फर्केला नफर्केला
आकाश पुगे’सी झ्यालबाट धर्ती चिहाएर भएनी हेर्नू ।

मान्छौ भने मित्र
भारी बोक्न परदेश नजानू ।

बाकसमा फर्किँदा
धर्ती देख्नेछौ न यो मित्र।
कसलाई के थाहा
कोको फर्किनेछ बाकसभित्र।
साथी नबिर्सी पठाउनू
आमालाई आवाज र प्रियालाई शरीरको चित्र

ए उड्न लागेका मित्र,
मेरा प्रिय परदेशिन लागेका मित्र
फर्केर मलाई नहेरे पनि,
उड्दा झ्यालबाट भए पनि
जन्मिएको धर्ती हेर्दै उड्नू ।
माटोको बासना र आमाको काख कहिले नबिर्सनू ।