इटहरीः सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती बिहीबार विराटनगरमा मुख्यमन्त्री कार्यालयमा थिए । सङ्खुवासभा, भोजपुर हुँदै आफ्नो गाउँपालिकाबाट सोलुखुम्बुसम्म सडक निर्माण चाँडो थालनी हुनुपर्ने मागसहित किरातीले मुख्यमन्त्री शेरधन राईसँग भेटे ।
गाउँपालिकाको पशुपंक्षी सेवा केन्द्रका डाक्टर बिर्खराज राईसँगै भेटिएका अध्यक्ष किरातीले भने, ‘हामीलाई त प्रदेश राजधानी आउन ३ दिन लाग्छ तर, सङ्घीय राजधानी जान एक दिन मात्रै लाग्छ ।’ प्रदेश राजधानी आउन सडक सञ्जाल अभावकै कारण सोलुखुम्बुवासीले दुःख र झन्झट पाएको अध्यक्ष किरातीले बताए ।
प्रदेश राजधानी आउन ३ दिन, गाडीभाडा मात्रै ३ हजार २ सय
अध्यक्ष किरातीले प्रदेश राजधानी आफ्नो गाउँपालिकाबाट आउन ३ दिन लाग्ने बताए । महाकुलुङ गाउँपालिकाको बुङ बजारबाट सोताङ गाउँपालिकाको दिब्लीघाटसम्म २ घण्टा गाडीमा यात्रा गरेर आउनुपर्ने र त्यहाँबाट २० मिनेट पैदल हिँडेर पुनः अर्को गाडीमा चढी सोलु पुग्न ७ घण्टा लाग्ने अध्यक्षले बताए ।
सोलुमा पुग्दा रात पर्ने हुनाले अर्को दिन बिहान ५ बजेको गाडीमा चढ्दा इटहरी आइपुग्दा रात पर्ने अध्यक्ष किरातीले बताए । सार्वजनिक सवारीमा घरबाट हिँडेको पहिलो दिन सोलु, दोस्रो दिन इटहरी र तेस्रो दिन मात्रै विराटनगर पुग्न सकिने अध्यक्ष किरातीले बताए । बाटोमा गाडी बिग्रँदा झन् समस्या र ढिलो हुने उनले बताए ।
सवारी भाडा पनि प्रदेश राजधानी आउन निकै महङ्गो हुने गाउँपालिकाका भेटेनरी डाक्टर बिर्खराज राईले बताए । इटहरीसम्म आउन मात्रै ३ हजार २ सय गाडी भाडा लाग्ने बताउँदै उनले भने, ‘गाउँपालिकाबाट २ ओटा गाडी फेर्दै सोलु पुग्न एक दिनको भाडा १५ सय लाग्छ र सोलुबाट इटहरी आउन १७ सय लाग्छ ।’
भोजपुर–सोलुखुम्बु सडक खोलिए सोलु नजिक हुन्छः अध्यक्ष किराती
तीन दिनमा मात्रै प्रदेश राजधानी विराटनगर आउन सकिने दुःखेसो गरेका अध्यक्ष किरातीले भोजपुर सोलुखुम्बु सडक बनेमा यस्तो समस्या नहुने बताए । भने, ‘भोजपुर सोलुुखुम्बु सडक बनेमा तीन दिनको बाटो एक दिनमा घट्छ ।’
हाल सवारीमा लगातार आउँदा लाग्ने २६ घण्टाको दूरी सो सडक बनेमा १६ घण्टा हाराहारीको हुने अध्यक्ष किरातीले बताए । भने, ‘सोलुखुम्बुको गेटवे हाम्रो गाउँपालिका भएकाले यो काम अगाडि बढाउन गाउँपालिकाले पहल गरेपनि योजना पर्न सकेन ।’
भोजपुरको दोभाने हुँदै सोलु पुग्ने बाटो बन्न ८० किलोमिटर हाराहारी सडक बन्न आवश्यक भएको अध्यक्ष किरातीले बताए । सोलुको महाकुलुङको ४ हुगा खोलासम्म सडक आइसकेको र त्यहाँबाट सीमावर्ती जिल्ला भोजपुरको जौबारी जोडिनासाथ सडकले जोडिने किरातीको तर्क छ । उनले भने, ‘यही महत्व बुझेरै हामीले हाम्रो क्षेत्रका प्रदेश सांसद, सङ्घीय सांसददेखि प्रदेश र सङ्घ सरकारसँग गाउँपालिकाबाट औपचारिक निर्णय गरेर माग गरिरहेका छौँ ।’