इटहरीः अहिले पनि नेपाली फिल्म उद्योगमा निर्माण भएका फिल्म प्रदर्शनअघि प्रचारको लागि देश दौडाहमा दलबलसहित निस्कने चलन छ । हिट फिल्म दर्शक सामु ल्याइसकेका निर्देशक, निर्माताहरूले आफ्नो फिल्ममा अभिनय गरेका कलाकारहरूलाई सँगै लिएर देशका प्रमुख स्थानमा प्रचारका लागि हिँडेकै छन् ।

देश दौडाहामा दलबलसहित निस्कनेमा दीपाश्री निरौला, दीपकराज गिरी, सन्तोष सेन, सुदर्शन थापा, रामबाबु गुरुङदेखि लिएर अहिले युवा पुस्ताका निर्देशक मिलन चाम्स, प्रदीप भट्टराईलगायत पर्छन् । कतिपयले आफ्नो फिल्मको प्रचारका लागि फिल्ममा अभिनय गरेका नायक नायिका बीचको प्रेम सम्बन्धका कुरा, नायिका निर्देशकको सम्बन्धको कुरा बाहिर ल्याउँछन् ।

त्यति मात्रै होइन, नायिका र निर्माता बीचका सम्बन्धका कुरा पनि मिडिया बाहिर ल्याउँछन् । कतिपयले त विवाह समेत चर्चा छ भन्छन् । केही फिल्म निर्माता तथा निर्देशकहरूले नै ब्रेकअपका कुरासम्म बाहिर ल्याउँछन् ।

फिल्म प्रचारका बेलामा देश दौडाहामा नायक नायिकाहरूले समय नै नदिएर फिल्म प्रदर्शनमा असर पुगेको भन्नेसम्म आरोप पनि फिल्म उद्योगमा कहलिएका निर्माता तथा निर्देशकहरूले बेलाबेलामा लगाउँदै पनि आएका छन् । यस्तै तरिकाले फिल्म प्रदर्शन गर्नुअघि प्रचार गर्ने गरिएको छ नेपाली फिल्मी उद्योगमा ।

कम लगानीमा फिल्म बनाएर प्रचारमा चाहिँ लाखौँ खर्च गरियो भन्ने निर्माता पनि नेपाली फिल्म उद्योगमै छन् अहिले पनि । यी सबै खालका शैलीलाई चुनौती दिँदै आगामी भदौ १३ गतेबाट देशभरका फिल्म हलबाट प्रदर्शन हुने तयारीमा रहेको नवल नेपालद्वारा निर्देशित मारुनी फिल्मको प्रचारशैली माथि भनिएका सबै खालका शैलीलाई चुनौती दिने गरी बिलकुलै फरक तरिकाले पूर्वबाट शुरु भएको छ ।

यो फिल्मको प्रचारका लागि न त फिल्ममा अभिनय गर्ने नायक नायिका नै चाहियो न त निर्देशक र निर्माता । न त लाखौं खर्च गरेर कलाकारसहितको जम्बो टोली नै देश दौडाहामा निस्कनु नै प¥यो । सामान्य दिमाग लगाएरै यतिबेला मारुनी फिल्मको प्रचार जनजनमा मात्र नभई सामाजिक सञ्जालमा पनि व्यापक बन्दै गएको छ ।

पूर्वको इटहरीमा रहेर नेपाली फिल्मी उद्योगमा सङ्घर्ष गरिरहेका नायक तथा मोडल माधव केसीको फरक सोचाइका कारण बिना लगानी, बिना तामझाम, बिना दलबल राम्रोसँग फिल्म मारुनीको प्रचार भइरहेको छ ।

सीपमूलक तालीम दिने संस्था पाथीभरा हिमालयन पोलिटेक्निक इन्स्टिच्युटका तालीम कोअर्डिनेटरका रूपमा कार्यरत केसीले शुरुमा इटहरीमा प्रशिक्षार्थी माझमा ब्ल्याक बोर्डमा चकले मारुनी फिल्मको भदौ १३ गते प्रदर्शन मिति लेखेर पाँच मिनेट पनि नलगाई प्रचार गरे ।

तालीममा सहभागी करिब ४५ जनाले आफूसँग भएको मोबाइलबाट फोटो मात्रै खिचेनन् । केसी र प्रदर्शन मितिसहित मारुनी लेखेको बोर्ड आउने गरी सेल्फी पनि खिच्न भ्याए । उनीहरूले केही क्षणमै आ आफ्नो फेसबुकमा फोटो अपलोड गरे । कलाकार केसीले पनि अपलोड गरे । यो कुरा उनका गुरुसमेत रहेका इटहरीको तरहरा स्थायी घर भएका सफल निर्देशक नवल नेपाललाई जानकारी गराए ।

नवललाई पनि यो शैली बिल्कुलै नयाँ र गज्जब लाग्यो । र, माधवलाई अब तपार्इं पुग्ने स्थानमा सानो ब्यानर बनाएर जाँदा अझ राम्रो होला भनी सुझाए । माधवले नवलको सुझावलाई तत्काल स्वीकार गरिहाले । सोहीअनुसार सानो ब्यानर बनाएर नायक तथा मोडल केसी यतिबेला एक नम्बर प्रदेशका तराई तथा पहाडी जिल्लाका मुख्य स्थानमा दुरदराजबाट सीप सिकेर आत्मनिर्भर बन्ने तरखरमा रहेका युवा दर्शकहरू मझ पुगिरहेका छन् ।

उनले इटहरीबाट शुरु गरेको यस खालको प्रचार शैली यतिबेला सङ्खुवासभाको चैनपुरमा गरेका छन् । शनिबार उनी चैनपुरमा सीपमूलक तालीम सकिएपछि ५ मिनेट समय मागेर ब्यानरसहित दर्शक सामु उपस्थित भए ।

माधव मारुनी फिल्मका कलाकार पनि होइनन् । किन आफ्नो कुनै संलग्नता नभएको फिल्मको यसरी प्रचार गरेको ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म फिल्म उद्योगमै केही गरौं भनेर १५ वर्षअघिबाट सङ्घर्ष गरिरहेको कलाकार हो । अर्कोतर्फ मलाई अघि बढ्नमा गुरु मानेको इटहरी निवासी सफल निर्देशक नवल नेपालले मारुनीको निर्देशन गर्नुभएको छ । उहाँले निर्देशन गरेका हालसम्मका फिल्म नराम्रा छैनन् । त्यही भएर निःस्वार्थ भावनाले एउटा कलाकार भएको नाताले अग्रज कलाकारको कामलाई सम्मान गर्दै सानो सहयोग मात्रै गरेको हो ।’

उनका अनुसार उनले सुनसरी, झापा, मोरङ र सङ्खुवासभाका दर्जनबढी स्थानमा सीपमूलक तालीम लिएका एक हजार बढी युवा प्रशिक्षार्थीहरू माझमा मारुनी फिल्मको प्रचार गरेका छन् । सहभागी सबैले यसअघि पनि विभिन्न माध्यबाट नवल नेपालले निर्देशन गरेको फिल्ममा समाजको, परिवारको, नारीको कथा पाएर मन पराएकाले मारुनी पनि जसरी भए पनि हेर्ने र आफ्ना घरगाउँका अन्यलाई पनि मौखिक रूपमा फिल्म हेर्न सल्लाह दिने प्रतिक्रिया दिएका छन् ।

उनले सिलाइकटाइ, प्लम्बिङ, मोबाइल मर्मत, हाउस वायरिङ, मेसन, कुकलगायतका सीपमूलक तालीम लिएका युवा दर्शकसामु फिल्म मारुनीको प्रचार गरेका हुन् । सीपसँगै मनोरञ्जन पनि आवश्यक पर्ने भएकाले तालीममा सहभागी युवाहरूसँग फिल्मका बारेमा ५ मिनेट समय मागेको र उनीहरूले पनि सहजै स्वीकार गरेको कलाकार केसी बताउँछन् ।
अब झापका केही स्थानमा यही शैलीमा फिल्मको प्रचार गरिसकेपछि कलेजका विद्यार्थीहरू माझ ५ मिनेट समय माग गरी फिल्म मारुनीको प्रदर्शन मितिका बारेमा जानकारी दिने योजना रहेको कलाकार केसीले सुनाए ।

कलाकार माधव केसीले सहयोगीका रूपमा निर्माताले लाखौं रुपियाँ खर्च गरेर गर्न नसक्ने प्रचार गरेकोमा कम खुसी छैनन्, निर्देशक नवल नेपाल । उनले भने, ‘माधवजीको आइडियामा मैले केही सुझाव दिएको मात्रै हो । प्रचार गरेबापत फिल्म निर्माण युनिटको तर्फबाट केही गरेका होइनौँ । गरिदिनुहोस् भनेका पनि होइनौँ । माधवजीले झैँ हामी कलाकार फिल्मकर्मीहरूले असल सोच राखेर अघि बढ्दा सामान्य तरिकाले पनि लगानीबिना भव्य प्रचार हुने रहेछ भन्ने गतिलो उदाहरण बन्यो, यो शैली भन्ने मलाई लाग्छ ।’

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको चलचित्र ‘मारुनी’ फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र नवनायिका रेविका गुरुङको मुख्य भूमिका रहेका छ । त्यस्तै अर्जुन श्रेष्ठ, आयुश प्रधान, विनोद भट्टराई, सम्पदा बानियाँको अभिनय पनि फिल्ममा हेर्न सकिन्छ ।

‘मारुनी’ मा पुनम गौतमको लगानी रहेको छ । राजा प्रधान, दर्शना केसी, मीना क्षेत्री सहनिर्माताको रूपमा रहेका छन् । चलचित्रको छायाङ्कन सञ्जय लामाले गरेका छन् । सङ्गीत अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद नवल नेपाल र गोबिन्द फुयाँलले तयार पारेका छन् । सम्पादन मित्र डी गुरुङको रहेको छ ।

maruni  (1) maruni  (2) maruni  (6) maruni  (3) maruni  (4) maruni  (7) maruni  (8) maruni  (9)