इलाम: झट्ट सम्झँदा इलाम हरियाली चियाबगानले भरिएको पूर्वको सुगम जिल्लाको रूपमा चिनिन्छ । तर त्यही सुगमताकै बिल्ला भिरेको इलाममा यस्ता पनि ठाउँ छन् जहाँ झापाको विकास हेरेर चित्त बुझाउनुको विकल्प छैन ।

पूर्व पश्चिम राजमार्गबाट झन्डै ६ किलोमिटर माथि पर्ने माई नगरपालिका–८ को मैनाचुली– लोसे क्षेत्रका ६० घरधुरीका बासिन्दाले अझै विकासको अनुभूत गर्न सकेका छैनन् । मैना चुली र लोसेबासी सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सुविधाबाट अझै वञ्चित छन् । कान्छो पहाड चुरे क्षेत्रको चुचुरोमा पर्ने मैना चुली र लोसेबासीहरुमा झापाको विकास हेरेर बस्नुको विकल्प छैन । जङ्गलै जङ्गल बिचमा रहेको सो क्षेत्रमा शिक्षाको लागी २०६१ सालमा जोर पोखरी आधारभूत विद्यालय स्थापना भएपछि त्यहाँ पुग्न समेत झन्डै एक घण्टा हिडनुपर्छ । तीन कक्षा सम्मको मात्रै अध्ययन हुने भएकाले छोराछोरी पढाउन झापा झर्नुको विकल्प छैन । ‘तिन कक्षा भन्दा माथि पढ्ने स्कुल छैन’ स्थानीय मनकुमारी राईले भनिन ‘छोराछोरी पढाउनकै लागी भए पनि झापामा कोठा भाडा लिएर झर्नुको विकल्प छैन ।’

mainachuli-pradeshportal.com
स्वास्थ्य क्षेत्रका हिसाबले मैना चुली पछाडि छ । गाउँमा स्वास्थ्य स्वयमसेविका भए पनि सिटामोल किन्न पनि झापाको दुधे र दमक पुग्नुपर्ने बाध्यता रहेको छ । ‘जङ्गलका बिचमा रहेका बस्तीका बासिन्दाले खानेपानीका लागि डेढ घण्टासम्म धाउनुपर्छ ।’ स्थानीय राजकुमार राईले भने ‘बिरामीले तत्काल उपचार पाउने अवस्था छैन ।’

खानेपानी बोक्नका लागि डेढघण्टा उकालो ओरालो लाग्नुपर्छ मनकुमारी राईले गुनासो गरिन । ‘यस क्षेत्रमा घुम्न आउने पर्यकहरुलाई पनि खानेपानी दिन सकेका छैनौँ ।’ उनले भनिन । सामान्य उपचार गर्न पनि झापाको दमक सहर धाउनुपर्दा प्रसूति सेवा लिने महिलाले घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको राईले गुनासो गरिन । ‘नियमित स्वास्थ्य जाँच गर्नका लागि हामीले दमक पुग्नुपर्छ, बाटो छैन’ उनले भनिन–‘स्थानीय सरकारले आएपछि गाँउगाउँमा विकास हुन्छ भन्थे । खै मैना चुली कसैको नजरमा पर्न सकेन’ मैनाचुलीबासी झापाको उज्यालो हरेर अँध्यारोमा बस्न बाध्य भएका छन् । ‘विद्युत् विस्तारका लागि धेरै पहल गर्‍यौ तर अहिलेसम्म योजना आएको छैन’ राईले भनिन् ‘हामी झापा मोरङका सहरको झममल उज्यालो हेरेर बस्दै आएका छौँ ।’

mainachuli-pradeshportal.com 1

दसैँ टार्ने माध्यम तामा र मेसु
अत्यधिक मात्रामा तामा उत्पादन हुने सो क्षेत्रका बासिन्दाहरूको दसैँ टार्ने मेलो तामा र मेसु ( तामालाई अमिल्याएर बनाइने बस्तु) हो । लालाखोला, चैते, ढङढङे ताँते लगायत क्षेत्रका बासिन्दा अर्थोपार्जनका लागि तामा खोजेर बिक्रीका लागि झापाको दोमुखा र सुरुङ्गा बजार सम्म आउने गरेका छन् । आफ्नै बारी र मैना चुली जङ्गलमा खोजेको तामा लिएर सो क्षेत्रका बासिन्दा हप्तामा शनिवार र मङ्गलवार दोमुखा क्षेत्रमा बेच्नमा व्यस्त हुन्छन् ।

स्थानीय डेविड राई भन्छन् ‘मेसु बजारमा ल्याउन अघिल्लो दिन नै डोकोमा तयार पार्छौ र बिहान ३ बजे नै झापा झछौ ।’ जङ्गलै जङ्गलको बाटो र आधा दर्जन साना ठुला खोला तर्नुपर्ने भएकाले समूह बनाइ झर्ने गरेको डेभिड बताउँछन् । त्यही तामा र मेसु बचेर कमाएको पैसाले स्थानीयहरूको दसैँ टर्ने गर्छ । सामान्य खेतीपाती गरेर उब्जाएको तरकारी र केराले त्यस क्षेत्रका बासिन्दाको चुलो बल्छ ।
जति धेरै वर्षा भयो उति नै धेरै तामा पलाउने गरेको कारण स्थानीयहरू वर्षा बढी भएको समयमा बढी आम्दानी गर्ने गरेको डेभिड बताउँछन् ।

पर्यटनको प्रचुर सम्भावना
इलामको माई नगरपालिका ८ मा अवस्थित रहेको मैना चुली क्षेत्रबाट तराईका सहरहरूको अवलोकनसँगै हिमालहरूको पनि दृश्य हेर्न सकिन्छ । यो क्षेत्र प्राकृतिक, र्धािमक, चराचुरुङगी र वन्यजन्तुको वासस्थान रहेकाले पर्यटकीयस्थलको सम्भावना भएको क्षेत्र हो । दक्षिणी क्षेत्रको अग्लो भु–भाग र कन्काई माई नजिकै भएको कारण जलमापन केन्द्र समेत सोही स्थानमा राखिएको छ । जस कारण कन्काईमा पानी बहावको बारेमा जानकारी लिन सहज हुँदै आएको छ । इलामबाट विकासका पूर्वाधारको पहुँच नभएको मैना चुली क्षेत्रमा झापाको दूधेबाट सडक निर्माण सुरु भए पनि यातायातका साधन चल्न सक्ने अवस्था छैन । चुरे क्षेत्रको पहाड भएकाले सडक खन्दा पनि बग्ने समस्या रहेको स्थानीय राजकुमार राई गुनासो गर्छन् ‘राम्रो सडक मात्रै निर्माण भएमा हामीले बिरामी हुँदा ज्यान जोगाउन सक्थ्यौ ।’ उनले भने

पूर्वाधार विकासका योजना ः जनप्रतिनिधि
मैना चुली क्षेत्रको विकासका लागि प्रदेश सरकारको समन्वयमा पूर्वाधार निर्माणको योजना अघि बढाइएको नगर प्रमुख दीपक थेवेले बताए । ‘ मैना चुली र लोसो विकासका दृष्टिकोणले पछाडि परेकै छ’ प्रमुख थेवेले भने ‘हामी सम्भावना हेरी पर्यटकीय र विकासका पूर्वाधार निर्माण गर्ने योजनामा छौ ।’ आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकाको ६ लाख र जनश्रमदान १ लाख २१ हजार गरी कुल ७ लाख २१ हजार बजेटमा बाटो फराकिलो बनाउने, नाली बनाउने, भु स्खलन रोक्ने र वृक्षारोपण गर्ने योजना सहित मैना चुली भ्युटावरसम्म पुग्ने करिब ६ किलोमिटर बाटो खनिएको छ ।

भौगोलिक रूपमा विकट रहेको सो क्षेत्र पहिरोका जोखिममा समेत रहेको छ । पहिरोको जोखिम कम गर्न योजनाहरू अगाडी बढाइने वडाध्यक्ष भक्तबहादुर आङदाम्बेले बताए । मैनाचुलीबासीका लागि चालु र्आिथक वर्षदेखि पूर्वाधार निर्माणमा प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको प्रदेश सांसद धिरेन्द्र शर्माले बताए । अधिक सम्भावना भएको यस क्षेत्रमा क्रमगत रूपमा विकास गर्ने योजना रहेको सांसद शर्माले जानकारी दिए ।