तेह्रथुम: नेपाल विद्युत् प्राधिकरणले तेह्रथुममा विद्युतीकरण हुन बाँकी सबै गाउँसम्म यस वर्ष भित्रमा विद्युतको पुहँच पु¥याउने लक्ष्य लिएको छ । जिल्लाका सबै गाउँसम्म विद्युतको पहुँच विस्तारको कामले अहिले तीव्रता पाएको छ । ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि प्राधिकरणमार्फत लाइन विस्तार, ट्रान्सफर्मर जडान र काठे पोल विस्थापनका काम भइरहेको छ ।

ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्र्तगत तेह्रथुममा ३७ करोड ५० लाख रुपैयाँ विनियोजन भई काम भइरहेको नेपाल विद्युत् प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख प्रेम भण्डारीले बताउनुभयो । गत चैत्र महिनाबाट सुरु भएको विद्युतीकरणको अहिले २० प्रतिशत काम पुरा भएको विद्युत् प्राधिकरण तेह्रथुमले जनाएको छ ।

जिल्लाको अहिलेसम्म विद्युतको पहुँच नपुगेको आठराई गाउँपालिकाका सात वटै वडामा र फेदाप गाउँपालिकाको सर्दुमा लाइन विस्तार र ट्रान्सफर्मर जडानको काम भइरहेको छ । प्राधिकरणले यसअघि विद्युतीकरण भइसकेका फेदाप, मेन्छ्यायेम र छ थर गाउँपालिका तथा म्याङलुङ र लालीगुराँस नगरपालिकामा एच.टी., एल.टी. लाइन निर्माण तथा ट्रान्सफर्मर जडानको काम सुरु गरेको छ । प्राधिकरणले जिल्लाका ५ हजार ३ सय ६० वटा काठका पोलहरू विस्थापित गर्ने भएको छ ।

एक तथ्याङ्कका अनुसार हाल जिल्लाका ६७ प्रतिशत परिवार मात्रै विद्युतको पहुँचमा रहेका छन् । कार्यालयका अनुसार जिल्लामा २२ हजार ९४ घरधुरी छन् । त्यसमध्ये अहिलेसम्म करिब १४ हजार ५ सय घरधुरीमा मात्रै विद्युतको पहुँच पुगेको नेपाल विद्युत् प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख भण्डारीले बताउनुभयो ।