इटहरीः मङ्गलबार इटहरीको सबैभन्दा ठुलो सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको चुनावी परिणाम आयो । नेकपा र नेपाली काँग्रेस मिलेर चुनावी मोर्चा बनाएपनि नेकपाको प्रस्तुति निक्कै फितलो चुनावी परिणामले देखाएको छ ।
५१३ परिषद् सदस्यमा ३७२ जनाले मतदान गरेका थिए । सबैभन्दा धेरै मत ३४८ आएको छ भने सबैभन्दा कम मतदान २४३ मत आएको छ । १३ जनाको चुनावमा १५ जना प्रतिस्पर्धामा उत्रेका थिए ।
यस्तो छ मत परिणाम सबैभन्दा धेरै देखी थोरै ल्याउनेको क्रम
१. तिर्थराज पुराजुलीः ३४८
२. सागर सुवेदीः ३४३
३. देवु निरौलाः ३३६
४. ईश्वर भट्टराईः ३३६
५. ज्योति कोइरालाः ३३१
६. आकाशहाङ सुब्बाः ३३१
७. रेवतिरमण भन्डारीः ३२३
८. शिवराज दाहालः ३१४
९. विकास केसीः ३००
१०. प्रमोद भट्टराईः २९८
११. रेवति घिमिरेः २९१
१२. यज्ञ बहादुर कटवाल ः२४२
१३. युगप्रिय निरौलाः २४२
चुनावमा नेकपाका साकिव एमालेका नेताहरूको कमजोर मत
चुनावी परिणाम अनुसार नेकपा इटहरीका प्रभावशाली नेता तथा वडा नम्बर ४ का अध्यक्ष चन्द्रप्रसाद भट्टराई पराजित भएका छन् । क्याम्पस व्यवस्थापन समितिका निवर्तमान उपाध्यक्ष भट्टराईले २१९ मत मात्रै ल्याए । यो मत भनेको सबैभन्दा थोरै मत ल्याएर विजयी स्वतन्त्र उम्मेदवार यज्ञ बहादुर कटवाल (गणेश)को भन्दा २३ मत कम हो ।
नेकपाबाट निर्वाचित वडा अध्यक्ष भट्टराई मात्रै हैन साबिक एमालेका इटहरी अध्यक्ष तथा नेकपा नेता रेवती घिमिरेको प्यालनमा सबैभन्दा थोरै मत आएको छ । नेपाल विद्यार्थी सङ्घका जिल्ला नेता प्रमोद भट्टराईको भन्दा ७ मत थोरै ल्याएका छन् घिमिरेले । भट्टराईको २९८ मत आउँदा घिमिरेले प्यानलको सबैभन्दा थोरै २९१ मत ल्याएका छन् । यो मत स्वतन्त्र उम्मेदवार यज्ञ बहादुर कटवाल (गणेश)को २४२ मत भन्दा ४९ मत धेरै हो ।
पूर्व एमाले अध्यक्ष घिमिरे, वडा नम्बर ४ का अध्यक्ष चन्द्र भट्टराई मात्रै हैन संविधानसभाका सदस्य रेवतिरमण भन्डारीको मत पनि ज्यादै कम आएको छ । नेपाली काँग्रेसका नेता तिर्थराज पराजुलीले सबैभन्दा धेरै ३४८ मत ल्याउँदा १३ सदस्य अन्तिम मत परिणाममा भन्डारीको मत ३२३ आएको छ । १३ सदस्य विजयीहरूमा भन्डारीको भन्दा ७ जना सदस्यहरूको मत धेरै आएको छ ।
इटहरी नेकपाले उद्योग वाणिज्य सङ्घमा जज्जास्पद हार बेहोरेपछि जनता क्याम्पस व्यवस्थापन समितिमा पनि कमजोर प्रस्तुति गरेको छ । यसलाई कतिपय नेकपा नेताले नेकपाको स्थानीय सरकारप्रतिको असन्तुष्टि र आन्तरिक गुटबन्दीको तर्क गर्छन् ।
चुनावमा सहभागी एक नेकपा नेताले भने, ‘पूर्व माओवादीका सागर सुवेदीको सबैभन्दा धेरैमा दोस्रो नम्बरमा आउनु र पूर्व एमालेको कमजोर हुनुमा आन्तरिक किचलो र काँग्रेसको एक गुटसँग मिलेको देखिन्छ ।’
नेपाली काँग्रेसमा देउवा पक्षका नेताहरूलाई घात?
१३ सदस्य पदको लागी भएको व्यवस्थापन समितिको चुनावमा नेपाली काँग्रेसका ८ जना नेकपाका ५ सदस्य चुनावी मैदानमा उत्रिएका थिए । मैदानमा उत्रिएका ८ सदस्य काँग्रेसमा २ जना मात्रै नेपाली काँग्रेसको केन्द्रीय संस्थापन देउवा पक्षका थिए ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय उपाध्यक्ष विकास केसी र सुनसरी नेविसंघ नेता प्रमोद भट्टराई सार्वजनिक रूपमा चिनिएका दुई देउवा पक्षका उम्मेदवार थिए । तर, केसी र भट्टराईको मत क्रमशः दशौँ र एघारौँ नम्बरमा मात्रै आएको छ ।
यसलाई कतिपयले इटहरी काँग्रेसको संस्थापन समूहले सहयोग नगरेको आरोप लाएका छन् । विकास केसीको पक्षमा भन्दा स्वतन्त्र उम्मेदवार कट्वालको पक्षमा भोट हाल्न केही संस्थापनका नेताले उर्दी गरेको एक नेता बताउँछन । उनी भन्छन्, ‘काँग्रेसले सबैभन्दा धेरै मत ल्याउदा दुई जना मात्रै तल पर्नुमा गुटगत कारण देखिन्छ ।’