इलामः नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख नेपाल आउनु परराष्ट्र नीतिविपरीत भएको बताएका छन् ।

आफू प्रधानमन्त्री भएकै बेला विदेशी कुटनीतिक नियोगका व्यक्तिको अन्तरदेशीय भेटघाटका विषयमा ‘कोड अफ कण्डक्ट’ बनाएकाले परराष्ट्र मन्त्रालयको स्वीकृतिबिना आउनु मर्यादा विपरीत भएको उनले आरोप लगाए ।

प्रधानमन्त्री ओलीले ‘रअ’ का प्रमुखलाई भेटेको कुरा हल्ला मात्र भए पनि राजनीतिक दलका केही व्यक्तिले भने भेटेको उनले दाबी गरे । नेता खनालले सरकारका समग्र कामको समीक्षा गरेका थिए ।

आज सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को बजेट नीति कार्यक्रम सार्वजनिकरण र विशिष्ट व्यक्तिहरूको सम्मानपछि पत्रकारसँग कुरा गर्दै नेता खनालले केही दिन भित्रमा अझै मन्त्री हेरफेर गर्न नेकपाभित्र छलफल गरिने जानकारी दिए ।

67664484_791896081204348_1294077211107655680_n

‘मन्त्रीमण्डल गठन भएको लामो समय भइसक्यो,’ उनले भने, ‘अब कामको समीक्षा गरेर फेरबदल गर्नै पर्छ ।’ नेता खनालले जनताले प्रत्यक्ष अनुभूत हुने काम सरकारले गर्न नसकेको बताउँदै यसै विषयमा प्रधानमन्त्री ओलीसँग बारम्बार छलफल गरिरहेको बताए । उनले मन्त्रीमण्डलका केही सदस्यले दुई तिहाइको सरकारमा अपेक्षा अनुरूप काम गर्न नसकेको आरोप लगाए ।

नेता खनालले दुई पार्टीबीचको सबै एकताका काम सकिएपछि प्रधानमन्त्री समेत फेरबदल हुने सक्ने सङ्केत गरे । मिडियामा आए जस्तो नेकपाको स्कुल विभागमा आफुले बार्गेनिङ नगरेको खनालले बताए ।

‘३३ ओटा विभागमध्ये १÷२ ओटामा सामान्य विवाद छ,’ उनले भने, ‘साथीहरू सहमतिमा आइसक्नुभएकाले बाहिरको हल्लाजस्तो असहज छैन ।’

नेता खनालले चिया, अदुवा, अलँैचीजस्ता कृषिजन्य वस्तुको निकासीमा बारम्बार देखिने समस्या समाधानको लागि मन्त्रीस्तरीय वार्ता भइरहेको जानकारी दिए । उनले देशमा भ्रष्टाचार मौलाएकाले तल्लो तहदेखि नै नियन्त्रणको प्रयास थालिनुपर्ने बताए ।

कार्यक्रममा सूर्योदय नगरपालिकामा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका व्यक्तिसहित नगरका विभिन्न क्षेत्रमा योगदान गर्नेलाई सम्मानपत्र तथा प्रशंसापत्रले अभिनन्दन गरिएको छ ।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा पत्रकार दुर्गानाथ शर्मा, गीतकार बुद्धवीर लामा, गायक सूर्य थुलुङ, शिक्षाविद नरहरि अधिकारी, चिया उद्योगी उदय चापागाईँ, पूर्व राष्ट्रसेवक डम्बरसिंह गुरुङ र पूर्व राष्ट्रिय महिला फुटबल खेलाडी रञ्जना दर्जीलगायतलाई सम्मान गरिएको थियो ।

प्रदेश १ को पर्यटकीय नगरी घोषित सूर्योदय नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९६ करोड बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।