धनकुटाः पहिरोबाट जोगिन २ वर्ष अघि साँगुरीगढी गाउँपालिका–६ मझुवाका अमतृबहादुर मगर ९ रोपनी जग्गा किनेर गाउँको पुछारबाट सिरानमा सरे । गाउँको सिरानमा सरेको २ वर्ष नबित्दै पहिरो पुन उनको घरमै आइपुग्यो ।
गत सोमबार उनको घरमा पुग्दा छिमेकीको सहारामा उनी घर भत्काउँदै थिए । बस्ती नजिकै रहेको साचा खोलाको पहिरोबाट जग्गा जोगाउन नसके पनि २ वर्षअघि लगाएको टिन तथा काठपात जोगाउन उनी लागिपरेका थिए ।
घरसहित करिब ९ रोपनी जग्गा पहिरोले तान्न थालेपछि अहिले उनी घरबारविहीन अवस्थामा छन् । ‘तलको घरबारी पनि पहिरोले तान्यो र माथि सरेको । अहिले त माथि पनि पहिरोले तानेर घरबारविहीन बनायो’, उनले भने ।
पहिरोको उच्च जोखिमका कारण यतिबेला धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ को मझुवा गाउँ त्रसित छ । पहिरोले जमिन चिराचिरा पर्न थालेपछि मझुवावासीलाई न त दिनमा भोक नै लाग्छ न त रातमा निद नै लाग्छ ।
सोही गाउँका ज्ञानबहादुर मगरले घर छाडेको १५ दिनभन्दा बढी भइसक्यो । उनी छोरीज्वाइँको घरमा बस्दै आइरहेका छन् । मझुवा गाउँका २७ घरमध्ये १३ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
केहीले अमृत र ज्ञानबहादुरले जस्तै घर छाडिसकेका छन् भने केही जोखिम मोलेर बसिरहेका छन् । घर वरीपरिको जमिन धाँजा फाटिसकेको छ । घर मुनिबाट पहिरोले अलिअलि गर्दै तानिरहेको छ । ‘पहिलेपहिले सानो पहिरो खस्ने गरे पनि ३ वर्ष यता भने बर्सेनी सो स्थानमा ठूलो पहिरो खस्ने गरेको स्थानीय बताउँछन् । डरैडरको बीच गाउँमा बसिरहेको स्थानीय सरोज मगरले बताए ।
केही परिवारको लागि स्थानीय सामुदायिक भवनमा बासको प्रबन्ध स्थानीय आफैँले गरेका छन् । स्थानीयले न त गाउँ छोडिहाल्न नै सकेका छन् त न पहिरोको डरले नै उनीहरूलाई छोडेको छ । राहत सहयोग र उद्दारको लागि जिल्ला प्रशासन कार्यलय, रेडक्रस, नेपाली सेना, गाउँपालिका तथा आफूहरू जुटिरहेको बडाध्यक्ष दीपक मगर बताउँछन् ।
पहिरोकै कारण भेडेटार–रवि राँके सडक समेत उच्च जोखिममा परेको छ । मझुवासहित मुक्तेन गाउँ पुग्ने कच्ची सडक समेत चर्किएर चिराचिरा परेको छ । जसका कारण गाउँसँग सडक सञ्जालको सम्पर्क टुटेको छ । मुक्तेन गाउँका बासिन्दा तथा विद्यार्थी बाटोको अर्को विकल्प नै नभएपछि जोखिम मोलेर पहिरोबाटै आवतजावत गर्न बाध्य भएका छन् ।