इटहरीः डिभिजन सडक कार्यालयअन्तर्गत भएका काम गुणस्तरहीन भएको भन्दै चौतर्फी आवाज उठेपछि प्रदेश १ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्गको अनुगमन गरेको छ ।

प्रदेश संसदमा समेत यस विषयमा आवाज उठेपछि समितिका सभापति शिवनारायण सिंह गनगाईको नेतृत्वको अनुगमन टोलीले दुहबीदेखि इटहरी हुँदै मोरङको खोर्सानेसम्मको सडक र पुलको अनुगमन गरेको हो ।

अनुगमनमा सार्वजनिक लेखा समितिका सदस्य सांसद तुलसीप्रसाद न्यौपाने, अम्बिका थापा, कुसुम श्रेष्ठ र प्रदेशसभाका सचिवलगायत सहभागी थिए ।