काँकरभिट्टाः सङ्घीय सरकारको पर्यटकीय गन्तव्यहरूको सूचीमा परेको झापाको कमल गाउँपालिका —३ स्थित प्राचीन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा धमाधम काम भइरहेको छ ।
कमल गाउँपालिकाको स्वामित्वमा रहेको सो क्षेत्रका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले विस्तृत परियोजना विवरण (डीपीआर) तयार गरेको थियो ।
गाउँपालिकाकै योजनाअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा १ नम्बर प्रदेश सरकारका तर्फबाट २० लाख रुपैयाँको लागतमा सिमसार क्षेत्रमा रहेको पानीको संरक्षणका लागि बाँध बाँध्ने र पोखरीको डिलमा हावा महल निर्माणको काम सम्पन्न भएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । त्यसैगरी सिमसार क्षेत्रको पूर्वाधार विकासका लागि प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा थप ५० लाख रुपैयाँ विनियोजन भएको जनाइएको छ ।
गाउँपालिका आन्तरिक स्रोतमार्फत् यसको प्रबद्र्धनमा लागिरहेको थियो । सरकारले पर्यटकीय गन्तव्यहरूको सूचीमा राखेपछि अब गाउँपालिकालाई पनि काम गर्न सजिलो भएको छ । अहिले जताततै पानीका मुहान सुकिरहेका बेला पानीको संरक्षण गर्नु प्रमुख चुनौती बनेको छ । पहिलो चरणमा पानी संरक्षणको लागि बाँध बाँधिएको गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटीले जानकारी दिए ।
स्थानीय र प्रदेश सरकारको सहकार्यमा सो क्षेत्रलाई थप व्यवस्थित बनाउँदै पर्यटन क्षेत्रमा मुख्य गन्तव्य बनाउने उद्देश्यमा आफूहरू जुटिरहेको आश्रम तथा सिमसार क्षेत्रका सचिव मधुसुदन अधिकारीले बताए ।
पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो सिमसार क्षेत्रमा पर्यटन प्रबद्र्धनको ठूलो सम्भावना रहेको बताइन्छ । धार्मिक आस्था तथा मनोरञ्जनका लागि सो क्षेत्र निकै महत्वपूर्ण हुने भएकाले सबैको साथ र सहयोग भएमा पर्यटकको रोजाइको गन्तव्य बन्न सक्ने वडा नम्बर ३ का अध्यक्ष नरप्रसाद दङ्गालले दाबी गरे ।
योसँगै झापामा पर्यटकीय गन्तव्यको रूपमा सिमसार र धार्मिक स्थलहरू स्थापित हुँदै गएका छन् । पछिल्लो समय पूर्वका धार्मिक पर्यटकीय स्थलको सूचीमा चिल्लागढ, विराटपोखरी, पृथ्वीनगरको किच्चकबध, अर्जुनधारा जलेश्वरधाम, प्राचीन सभ्यता र इतिहास बोकेको सताक्षीधाम, बाहुनडाँगीको कृष्णथुम्की आदि रहेका छन् ।
यस्तै, मनोरञ्जन एवम् पर्यटकीय क्षेत्रहरूमा सुरुङ्गाको जामुनखाडी सिमसार क्षेत्र, हेप्पील्याण्ड, नेपालको सबैभन्दा होचो स्थल कचनकवल, मेचीनगरको बाँसबारी सिमसार, कालिका सिमसार, मागुरमाडी तथा खुट्टेडाँगी सिमसार, पातालगंगा, अर्जुनधाराको सुखानी शहीद उद्यान आदि आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि गन्तव्य बन्दै गएका स्थलहरू हुन् ।