धरानः छोराको उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका जनकपुरका एक दम्पत्ति अस्पताल परिसरमै रुखले किचेर घाइते भएका छन् ।
पार्किङ परिसरमा रहेको सखुवाको रुख ढलेर उनीहरू घाइते भएका हुन् । घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जनाए ।
धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव घाइते भएका हुन् । प्रतिष्ठानको पीयाआईसीयूमा छोरा ऋतिक यादवको उपचार गराइरहेका उनीहरू बाटोमा हिँडिरहेको समयमा रुख ढलेको थियो ।
घाइते दम्पत्ति र बिरामी छोराको औषधी र उपचार खर्च निःशुल्क गरिने अस्पताल निर्देशक डा.गौरीशंकर साहले बताए । सो रुख ढल्दा पार्किङ गरेर राखेको को.२.ह. ५५७५ नम्बरको टेम्पोलाई समेत क्षति पुगेको छ ।