धरानः नेपाली काङ्ग्रेस धरानका नेता विकास आचार्यले धरान उपमहानगरपालिकामा हुन लागेको उपनिर्वाचनमा जातलाई भन्दा क्षमतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । धरानमा जातीय जनसङ्ख्याको आधारमा उम्मेद्वार बनाउँदा निर्वाचन जितिन्छ भन्ने भ्रम मात्र रहेको उनले बताए ।
मंसीर १४ गते धरान उपमहानगरपालिकामा मेयरसहित १ वडाध्यक्षको लागि निर्वाचन हुँदैछ । सोही निर्वाचनमा केन्द्रित रहँदै उनले नेपाली काङ्ग्रेसले टिकट वितरण गर्दा क्षमता र सङ्गठनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । आदिवासी जनजातिको जनसङ्ख्या अत्यधिक रहेको धरानमा पहिले काङ्ग्रेसले आदिवासी जनजाति उम्मेद्वार उठाउँदा हार बेहोरेको कुरा उनले फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।
पहिले काङ्ग्रेसका भेषबहादुर डङ्गोललाई तत्कालीन एमालेका मनमोहन अधिकारीले पराजित गरेको उनले उल्लेख गरेका छन् । त्यस्तै, धरानमा राईको जनसङ्ख्या अत्यधिक भए पनि काङ्ग्रेसका उम्मेद्वार विनोद राईलाई एमालेकै लीला श्रेष्ठले, किशोर राईलाई प्रदीप भण्डारीले र अझ राईहरूका केन्द्रीय अध्यक्ष तथा धरान काङ्ग्रेसका नगर सभापति तिलक राई स्वयम् पराजित भएको कुरा उनले स्टाटसमार्फत् उल्लेख गरेका छन् । त्यस्तै, काङ्ग्रेसका चन्द्रप्रसाद श्रेष्ठलाई तत्कालीन एमालेकी उम्मेद्वार कुन्ता शर्माले पराजित गरेको उनले लेखेका छन् ।
पूर्ववत दृष्टान्त जातको आधारमा नदेखीएकाले सङ्गठन र क्षमतामा ध्यान दिन उनले पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । ‘चुनावमा जातको आधारमा उम्मेद्वार बनाउनु भन्दा चुनावअगाडि नै सङ्गठन सुदृढीकरणमा ध्यान दिऔं,’ उनले भनेका छन्, ‘आन्तरिक किचलो अन्त्य गरेर एकताबद्ध बनौं, सबैलाई संगठनमा समेटौं, जनसरोकारको विषयमा जनताको कित्तामा उभिएर बोलौं । राष्ट्रिय आवश्यकता अनुसार जनताले चाहेको एजेण्डा समातेर त्यसको पक्षमा लागौं ।’
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर दलगत स्वार्थको पक्षमा लागे चुनाव जित्न सकिने उनको बुझाइ छ । जनतामा लोकप्रिय बन्दै जाने हो भने र घात, प्रतिघात र अन्तर्घात निमिट्यान्न पार्ने हो भने आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले रोक्न नसक्ने उनको भनाइ छ ।