बेलबारीः पूर्व नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भएको लामो समयपछि बनेका स्थानीय कमिटीहरूलाई प्रदेश तथा जिल्ला कमिटीले ह्वीप जारी गर्न थालेका छन् । स्थानीय नगर तथा गाउँ कमिटिहरू गठन गरेर शपथ ग्रहण चलिरहँदा जिल्ला कमिटि मोरङले काम गर्न ३ महिने अल्टिमेटम नै दिएको छ ।

शपथ ग्रहण भएको सात दिनभित्रमा नेपाल कम्युनिष्ट पार्टी लेखिएको बोर्ड राख्नुपर्ने भदौ महिनाभित्र वडा कमिटी बनाइसक्नुपर्ने र दशंै अगावै पार्टी सङ्गठित सदस्य बनाइसक्नु पर्ने मोरङ जिल्ला कमिटीले स्थानीय कमिटीहरूलाई निर्देशन नै दिएको छ । स्थानीय कमिटि नबन्दा पार्टी कार्यालयहरू स्थपना भएका थिएनन् । जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोख्रेलका अनुसार केही नेताको झोलामा नै पार्टी कार्यालय बनेका थिए ।

अहिले बनेका नगरकमिटीहरूको काम भनेको पार्टी कार्यालय स्थपना गरेर झण्डा र बोर्ड राख्ने मात्रै नभएको भन्दै उनले कार्यालयले जनताको गुनासो सुनेर १५ दिनभित्रमा काम गर्न समेत निर्देशन दिए । स्थानीय कमिटीले कार्यक्रम गरेर केन्द्रीय नेता आफैँ ल्याउन जिल्ला कमिटीले नदिने भएको छ ।

पार्टीभित्र गुटको राजनीति बढेकाले त्यसको अन्त्य गर्न यस्तो योजना ल्याएको पोख्रलले बताए ।

स्थानीय, प्रदेश तथा सङ्घको चुनावको घोषणापत्र कार्यान्वयन गर्ने जिम्मा समेत मोरङले स्थानीय कमिटीलाई दिएको छ । घोषणापत्रमा उल्लेख भएका बुँदाहरू अध्ययन गरेर तिनै तहका सरकारलाई खबरदारी गर्ने जिम्मा समेत स्थानीय कमिटीलाई दिएको छ । ३ महिना भित्र नै नेकपाका नेता तथा कार्यकर्ताले सञ्चालन गरेका सङ्घ संस्था उदाहरणीय बनाउने गरी कार्य योजना बनाउन समेत जिल्ला कमिटीले निर्देशन गरेको छ ।

१७ ओटा स्थानीय तह रहेको मोरङमा विराटनगर महानगरपालिकाबाहेक अन्यमा कमिटी गठन भएको छ

नगर कमिटी ८१ र जिल्ला कमिटी ७५ सदस्यीय बनाउन केन्द्रीय कमिटीले निर्देशन दिए पनि मोरङले भने त्यो भन्दा बढीको कमिटी बनाएको छ । अन्य पार्टीबाट आएकाहरूलाई समेत कमिटीमा राख्नुपर्ने अवस्था सिर्जना भएकाले केही स्थानीय कमिटीमा बढी सदस्य बनाइएको जिल्ला कमिटीले जनाएको छ ।

शपथ ग्रहण गराउनका लागि मन्त्रीदेखि केन्द्रीय नेताहरू मोरङमा छन् । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, मोरङ इञ्चार्ज घनेन्द्र बस्नेत, विनोद ढकाल, गोपी अछामी, महेश रेग्मी लगायतका नेताले शपथ ग्रहण गराइरहेका छन् । मोरङका कोनेपोखरी, बेलबारी, सुन्दरहरैंचा केराबारीमा शपथ ग्रहण सकिएको छ ।