इटहरी: भारतीय राज्य पश्चिम बगालको दार्जिलिङ क्षेत्रबाट चुनाव जितेर लोकसभा (प्रतिनिधिसभा)मा चुनिएका सांसद राजु बिस्टले नेपाली कविको कविता सुनाएका छन्।

   गत अप्रिल १८ मा भएको चुनावमा ७ लाख ५0 हजार ६७ मत ल्याएका बिस्टले नेपाली कवि सिद्दीचरण श्रेष्ठको कविता सुनाए। दार्जिलिङ क्षेत्रमा रहेका चिया मजदुरको समस्या बारेमा बोल्दै ३३ वर्षीय बिस्टले मजदुरको पीडा सिद्दीचरणको कविताबाट सुरु गरे। उनले भने:

मिठो खानु र राम्रो लाउनु
पुस्तक च्यापी डटेर हिँड्नु

बाबु तिमी पाउँदैनौ है
तिम्रो बाबासँग पैसा छैन

नेपाली कविको कविता नेपाली भाषामै सुनाएका बिस्टले पछि हिन्दीमा समेत अनुवाद गरेका थिए।

को हुन राजु बिस्ट?

राजु बिस्ट मणिपुरमा जन्मेका नेपाली भाषी भारतीय हुन। मणिपुरको चारहजारे सेनापति क्षेत्रमा जन्मेका उनी मणिपुरका ६० हजार नेपाली भाषीबाट लोकसभामा पुग्ने पहिलो सांसद भएको टाइम्स अब इन्डियाले लेखेको छ। बिस्ट अगाडि सन सन १९८० को दशकमा मणिपुरको राज्यसभा (प्रदेश संसद्)मा किशोर थापा पुगेका थिए।

८ वर्षको उमेरमै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)मा सक्रिय बिस्ट बिजिपीसग युवा अवस्थाबाटै जोडिएको टाइम्स अब इन्डियामा पत्रकार एस सरोजकुमार शर्माले लेखेका छन्। शर्मामा अनुसार हाल दिल्लीको पन्जाबी बाघ क्षेत्रमा बस्ने बिस्टले मे २३ बाट लोकसभा सांसद भएका हुन। सांसद हुनु अगाडि व्यवसायमा सक्रिय बिस्ट सूर्य रोशनी लिमिटेडका प्रबन्ध निर्देशक समेत भएको भारतीय मिडियाहरूले लेखेका छन्।