विराटनगरः गाउँमै जातीय विभेद विरुद्धको सहभोजमा सहभागी भएका खोटाङका एक वृद्ध सामाजिक बहिष्कारमा परेका छन् । सबैले बहिष्कार गरेपछि न्याय माग्न प्रदेश राजधानी विराटनगर आएका ७६वर्षिय टङ्क प्रसाद आचार्यले बुधवार संसदभवनमा सांसद र पत्रकारहरूसँग न्यायको आचना गरे ।

गत जेठ १८ गते भएको उक्त सहभोजमा सहभागी हुँदा उनलाई खोटाङमा स्थानीय सरकार र जिल्ला समन्वय समितिले दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो । तर, त्यस पछि आचार्य परिवार भित्रैका दाजुभाइले दलितको जुठो खाएको भन्दै उनलाई भान्सा, पूजा, पुराण देखि मानिसको मृत्यु संस्कारमा समेत छोइछिनो गरेका कारण आफु अन्यायमा परेको उनको गुनासो छ ।

आचार्यले सह भोज खाएको बेला प्रतिनिधि सभा सदस्य विशाल भट्टराई सहित जिल्लाका विभिन्न सरकारी निकायमा प्रमुख रहेको बताए । तर, उनलाई मात्र गाउँलेले बहिष्कृत गरेर गाउँमै बस्न नसक्ने बनाएपछि प्रदेश सरकार समक्ष न्याय माग्न आएको उनको भनाइ छ ।

pradeshportal (2)

अझै सम्म जातीय विभेद कायम रहेको भन्दै यो विषयले प्रदेश संसद् बैठकमा समेत प्रवेश पाएको छ । खोटाङ सांसद राजन राईले सामाजिक चेतनाको उज्यालो बोक्ने अभियानकर्मीलाई केही व्यक्तिले समामाजिक बहिष्कृत गर्नु अपराध रहेको भन्दै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने आवाज उठाए ।



सांसद राईले पीडित आचार्यको सहज गाउँ फिर्ताका लागि पहल गर्दै दोषीलाई कानुनबमोजिम सजाय दिलाउन सरकार समक्ष माग गरेका छन् ।

pradeshportal (1)