इटहरीः २०७६ सावन २७ गते प्रदेश १ सरकारले कृषि क्षेत्रका विभिन्न ७० जनाको करारमा जागिरको आवेदन खुलायो । तर, नेपालमा प्रदेश १ को धरानमा मात्रै पढाइ हुने कृषि इन्जिनियरिङ क्षेत्रका कुनै पनि आवेदन माग गरिएन ।

कृषिलाई समृद्धिको पहिलो आधार मानेको प्रदेश १ सरकारले कृषि इन्जिनियरलाई नै नसमेट्नु दुःखद भएको उपप्राध्यापक सागर काफ्लेले बताए । ‘कृषिमा क्रान्ति गर्न कृषिमा यान्त्रीकरण नभई हुँदैन र यान्त्रीकरणको लागी कृषि इन्जिनियर नभई हुँदैन’, त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पुर्वान्चल क्याम्पसमा प्राध्यापन गर्ने काफ्लेले भने, ‘तर, समृद्धिको आधार कृषिलाई पहिलो मानेको प्रदेश सरकारले नै कृषि इन्जिनियरलाई कुनै भ्याकेन्सी खोलेन ।’

नेपाल कृषि इन्जिनियर समाजका सचिव समेत रहेका काफ्लेका अनुसार कृषि इन्जिनियरहरूको सदुपयोग हुन नसकेकोले नेपाली कृषि पछि परेको हो । जर्मन सरकारबाट सन २०१८ मा ‘ग्रिन ट्यालेन्ट’ अवार्ड समेत पाएका काफ्लेले भन्छन्, ‘कृषि प्रमुख पेसा भएका हरेक स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, कृषि ज्ञान केन्द्र देखी कृषि विकास बैङ्क सम्म कृषि इन्जिनियरको आवश्यक छ तर अझै समेटिएको छैन ।’

नेपालको पहिलो कृषि इन्जिनियरिङको स्नातक पढाइ हुने धरानको पुर्वान्चल क्याम्पसबाट ४ सय हाराहारी दक्ष कृषि इन्जिनियरहरू उत्पादन भए पनि सरकारले सदुपयोग गर्न नसकेको काफ्लेले बताए । उनले भने, ‘सरकारले पूर्वाधार, छात्रवृत्ति देखी हरेक कुरामा लगानी गरेर कृषि इन्जिनियर उत्पादन गरेको छ तर सोही जनशिक्तलाइ सही रूपमा परिचालन गर्न सकेको छैन ।’

कृषि इन्जिनियरलाई सरकारले समयमै र सही रूपमा नसमेट्दा प्रतिभा पलायन देखी कृषि इन्जिनियरिङ क्षेत्रमा आकर्षण घट्नै भएकोले आफूहरूले प्रदेश सरकार र मन्त्रालयमा बुधवार ज्ञापनपत्र बुझाएको काफ्लेले बताए । उनले प्रदेशपोर्टलसँग भने, ‘कृषि इन्जिनियरबिना नेपालमा समृद्धि आउँदैन ।’

agricultural engineer gyaapan paptra news pradeshportal.com