विराटचोकः पलेँटी शृङ्खलाको १५ औँ संस्करणमा लोकप्रिय गायक कर्णदासलाई नझरेका फूलहरू नामक संस्थाले सम्मान गर्ने भएको छ ।
३ वर्षअघि देखि सञ्चालित शृङ्खलाअन्तर्गत सुन्दरहरैंचाको विराटचोकमा यही भदौ ५ गते साँझ साढे ७ बजेदेखि शुरुहुने पलेँटी साँझमा नायक भुवन केसीको पनि प्रस्तुति रहने भएको छ ।
स्रष्टाको सम्मान र भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण र विकास गर्न नझरेका फूलहरूले नियमित रूपमा कार्यक्रम सञ्चालन गर्दै लैजाने प्रस्तोता केपी घिमिरेले बताए ।
१५ औं शृङ्खलामा गायक कर्णदास, नायक भुवन केसीसहित साहित्यकार अमृतप्रसाद आचार्य, बादलदेवी चाम्लिङ र गायिका सुनिता लिम्बूको प्रस्तुतिमा दर्शकहरुले मनोरञ्जन प्राप्त गर्ने भएका छन् ।
कोशीहरैंचा उद्योग वाणिज्य सङ्घको सभाहल विराटचोकमा कार्यक्रम हुने घिमिरेले बताए । यसभन्दा अगाडिका शृङ्खलामा गायक लाक्पा शेर्पा, यम बराल, रामकृष्ण ढकाल, लेखु विवश, कुबेर नेपाली, हेमन्त शर्मा, राज सिग्देल, सत्यकला राई, तुलसी पराजुली सहभागी भइसकेका छन् ।
सङ्गीतकार राजु सिंह, गीतकार तथा सङ्गीतकार रमेश कार्की, लोक गायक एलपी जोशी, साहित्यकार मनु मञ्जिल, स्थानीय स्रष्टा जेबी थुलुङ, रेखा सुवेदी, तिला लेकाली, तारा पराजुली, हेमन यात्री, सञ्जीव धिमाल, यमुना पराजुली, मीनकुमार नमोदित श्रेष्ठ लगायत २ दर्जनभन्दा बढी स्रष्टाको प्रस्तुति प्रस्तुत भइसकेको घिमिरेले बताए ।