बेलबारीः जनसङ्ख्या तथा वातावरण मन्त्रालय जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा वर्षा मापक केन्द्र मोरङको सुन्दरहरैंचामा स्थापना भएको ६६ वर्ष पुगेको छ ।
बर्खाको समयमा विशेष गरी पानीको मात्रा मापन गरेर खोलामा बाढी आए जनतालाई सूचना दिने गरी स्थापना भएको कार्यालयले अहिलेसम्म एउटा मात्रै सूचना दिएको छ । २०१० सालमा भारतले स्थापना गरेको सो कार्यालय २०२४ सालमा नेपाललाई हस्तान्तरण गरेको थियो ।
मोरङका खोलाहरूमा बढेको बाढीबाट धनजनको क्षति हुन नदिनका लागि स्थापना गरिएको कार्यालयले पानीको मापन गरेर क्षति हुनुपूर्व सूचना पु¥याउने गरी स्थापना गरिएको कार्यालयले समयमै सूचना नदिँदा लाखौ रुपैयाको क्षति हुने गरेको छ ।
मोरङको सुन्दरहरैंचा १ वडा कार्यालय छेउमा रहेको मापन केन्द्रको कार्यालयमा १ जना कर्मचारी रहेका छन् । लगभग ६५ वर्षभन्दा बढी उमेरका लक्ष्मीकुमार मास्केको भरमा वर्षाको पानी नाप्ने गरिन्छ । ८ कक्षा मात्रै अध्ययन गरेका मास्केले जागिर खाएको समेत ५ दशक पूरा भएको छ ।
‘मलाई पानी परेको समयमा फोन गरेर पानी नाप्न भन्छन् मेरो काम नै त्यति हो’, उनले भने, ‘कार्यालमा रहेका उपकरणमा समेत खिया लाग्ने गरेको छ ।’ वर्षाको पानी नाप्ने उपकरणमा समेत खिया लागेको उनले बताए ।
‘मोबाइलमा म्यासेज आउँदा मात्रै कार्यालयले म्यासेज पनि दिँदो रहेछ भन्ने थाहा भयो’, मास्केले भने, ‘नत्र यो कार्यालयले के गर्छ भन्ने मलाई नै थाहा थिएन ।’ उनले मासिक ६ हजार तलब खाने गरेका छन् । महिनाको २० रुपैयाँदेखि जागिर खान उनले शुरु गरेका थिए ।
‘एउटा कार्यालय छ । १ जना कर्मचारी पनि देखिन्छन्,’ सुन्दरहरँचा वडा नम्बर १ का वडाध्यक्ष विनोद बस्नेतले भने, ‘तर काम के गर्छन् र यो कार्यालयबाट सेवा के दिइन्छ भन्ने समेत कसैलाई थाहा छैन । नगरकै जग्गामा भोगअधिकार गर्न दिने गरी कार्यालय सञ्चालनका लागि जग्गा दिएको रहेछ । जनताको प्रत्यक्ष जीविकामा असर पार्ने सवेदनशील क्षेत्रमै सूचना नपाउँदा समस्या भएको स्थानीय बासिन्दाहरूको गुनासो रहेको छ ।
मोबाइलमा म्यासेज आएपछि कार्यालय कहाँ छ भनेर खोजेको सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । ‘साउन ८ गते लोहोन्द्रा तथा सिँघिया लगायतका अन्य स साना खोलामा बाढी बढ्ने भन्दै सूचना जारी गरेको थियो’, दाहालले भने, ‘त्यसपछि पानी परे पनि कुनै सूचना आएन ।’
माथिल्लो क्षेत्रमा खोलामा पानी बढेपछि तल्लो क्षेत्रमा धनजनको क्षति हुन नदिनका लागि सो कार्यालय स्थापना गरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकृत विक्रम श्रेष्ठले बताए ।
‘पहिला हाइड्रोपावर, सडक निर्माण तथा पूर्वाधार निर्माणका कामका लागि मात्रै सूचना दिने गरेका थियौँ,’, श्रेष्ठले भने, ‘४ वर्षदेखि भने जनतामा एसएमएस पठाउन थालिएको हो ।’ अहिले विभागबाटै पानीको मात्रा नाप्ने यन्त्र जडान गरिएकाले अब सूचना दिन सजिलो हुनेसमेत उनले बताए ।
कर्मचारीले बिहान पौने ९ बजे पानीको अवस्थाबारे जानकारी गराउने गरेकोमा अब भने पानी परेको बेला हरेक घण्टा पानीको मात्रा मापन गरिने उनले बताए ।