उर्लाबारीः नेपाली काङ्ग्रेस र नेकपाको द्वन्द्व र अहमताका कारण उर्लाबारी नगरपालिकाको काम ठप्प भएको भन्दै विभिन्न दलहरूले विरोध जनाएका छन् ।

शनिबार सङ्घीय समाजवादी फोरम, नेपाल उर्लाबारी नगर समिति, नयाँ शक्ति नेपाल उर्लाबारी नगर समिति र सङ्घीय लिम्बूवान मञ्च नेपाल उर्लाबारी नगरसमितिले संयुक्त विज्ञप्ति जारी गर्दै व्यक्तिगत र दलीय द्वन्द्वका कारण जनताका काम ठप्प पारेर उर्लाबारी नगरका जनप्रतिनिधिले घृणित कार्य गरेको जनाए । नेपाली काङ्ग्रेस र नेकपाका कारण उर्लाबारी नगरपालिकाका जनतालाई अनिर्णयको बन्दी बनाउन नहुने तीन दलको ठम्याइ छ ।

सङ्घीय समाजवादी फोरमका उर्लाबारी नगरअध्यक्ष मातृका धिमालले नेपाली काङ्ग्रेस र नेकपाको लडाइँले जनता मारमा परेको बताए । उनले जनतालाई केन्द्रमा राखेर जनप्रतिनिधिहरूले काम नगरेका कारण समस्या उत्पन्न भएको बताए । जनताका नैसर्गिक अधिकारका कामसमेत ठप्प पारेका कारण उर्लाबारीबासीले सास्ती खेप्नु परेकोतर्फ सम्बन्धित पक्षको ध्यान जानुपर्ने उनको भनाइ छ ।

त्यस्तै, सङ्घीय लिम्बूवान मञ्चका उर्लाबारी अध्यक्ष वरुण लाबुङले नेपाली काङ्ग्रेस र नेकपा दुवै दल समस्याको मुख्य जड भएको बताए । ‘दुवै दल भण्डाफोर अभियान चलाइरहेका छन्,’ उनले भने, ‘खोइ जनताका समस्या बुझेको ?’

जनताका अधिकार कुण्ठित गर्ने कार्यविरुद्ध सम्पूर्ण उर्लाबारीबासी आन्दोलित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । त्यस्तै, सङ्घीय समाजवादी फोरमका जिल्ला नेता विशाल आङ्देम्बेले जनप्रतिनिधिबाट जनताले ठूलो अपेक्षा राखेको भए पनि काङ्ग्रेस र एमालेको दम्भका कारण उर्लाबारीबासीले सास्ती खेप्नुपरेको उल्लेख गर्दै स्थानीय तहमा मौलाउँदै गएको भ्रष्टाचार हटाउन भण्डाफोर अभियान चलाउनुपर्ने बताए ।

उर्लाबारीका जनतालाई अनिर्णयको बन्दीबाट तुरुन्त निकास दिन पनि सम्बन्धित पक्षलाई उनले अपिल गरे । सङ्घीय समाजवादी फोरमका नेता बाङ्गाई धिमाल, रामकुमार राई, नयाँ शक्ति नेपाल उर्लाबारी नगर समिति अध्यक्ष राधिका नेपाल, सङ्घीय लिम्बूवान मञ्च नेपालका नेता समशेर लिम्बूलगायतले आफ्ना धारणा राखेका थिए ।

उर्लाबारी नगरकार्यपालिकाको बैठकको निर्णयमा एकलौटी तरिकाले गरेको भन्दै उपमेयर लक्ष्मी भण्डारीको नेतृत्वमा उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएका थिए । अदालतको साउन २७ गते अन्तरिम आदेशको कारण देखाउँदै नगरका सम्पूर्ण कार्य ठप्प छन् ।