महालक्ष्मी, धनकुटाः धेरै स्थानीय सरकारले जनपक्षीय काम गर्न नसकेको भनेर चर्को आलोचना भइरहेको छ । केही नगरपालिकाहरूले लोकप्रिय कार्यक्रम ल्याउन खोजिरहेका छन् भने भने केहीले आफ्नो क्षेत्रभित्र उपयुक्त हुने कार्यक्रमहरू ल्याइरहेका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिकाले पनि यस्तै एउटा कार्यक्रम ल्याएको छ, ‘जहाँ अभर, त्यहाँ नगर’ । गाउँगाउँमा सिंहदरबार पुगेको अनुभूति हुने गरी काम गर्न यो कार्यक्रम शुरु गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल बताउँछन् ।
भौगोलिक विकटतालाई चिर्दै नगर क्षेत्रभित्र हुने सबैखाले समस्यालाई तत्कालै समाधान गर्न यो कार्यक्रम शुरु गरिएको उनले बताए । ‘हामीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट यो कार्यक्रम शुरु गर्ने भनेका छौँ,’ उनले भने, ‘अहिले यसलाई कार्यान्वयनको तयारीमा छौँ ।’
‘यो कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ,’ उनले भने, ‘यसमा अन्य शीर्षकका बजेटहरू पनि आवश्यकताअनुसार खर्च गर्न सकिन्छ ।’ नगरपालिकाभित्र आइपर्ने विपतका बेला नगरवासीलाई राहत दिने तथा अप्ठ्यारो परेको बेला आवश्यक सहयोग गर्न कार्यक्रम शुरु गरिएको मेयर नेपालले जानकारी दिए ।
नगरवासी गम्भीर खालको रोगबाट पीडित भएको बेला, प्राकृतिक प्रकोप आइपरेको बेला, सडक तथा बाटो भत्किएको बेला तत्काल निर्माण गर्न ‘जहाँ अभर, त्यहाँ नगर’ कार्यक्रम शुरु गरिएको मेयर नेपालको भनाइ छ ।
यो कार्यक्रम सञ्चालन गर्न अहिले कार्यविधि तयार हुँदैछ । ‘अहिले हामीले भारत सरकारसँग एम्बुलेन्स मागेका छौँ’, उनले भने, एम्बुलेन्सको चाबी आइपुगेको छ । अब सञ्चालनमा आउँछ ।’ यो पनि ‘जहाँ अभर, त्यहाँ नगर’ कायक्रमबाट सञ्चालन हुने मेयर नेपालको भनाइ छ । ‘यो कार्यक्रमका लागि सबै वडा कार्यलयसँगै ७२ वटा टोल सुधार समितिहरूलाई सक्रिय बनाउने तयारी गरेको उनले बताए ।
‘स्थानीय सरकारले आफ्नो स्रोत र क्षमताले भ्याएसम्म नगरवासीलाई सुविधा दिने हो’, उपप्रमुख मञ्जु अधिकारीले भनिन्, ‘त्यसका लागि हामीले नगरवासीसँग प्रत्यक्ष पुग्ने माध्यमको रूपमा यो कार्यक्रमलाई लिएका छौँ ।’
नगरवासीले नगरसँग धेरै अपेक्षा गर्ने हुनाले कुनै समस्या परेको बेला स्थानीय सरकारको उपस्थिति होस् भनेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताइन् ।
मेयर नेपालले यो कार्यक्रमलाई क्युआरटी (क्वीक रेस्पोन्स टिम)को रूपमा पनि अगाडि बढाउन चाहेको बताए । करिब २५ हजार नगरबासीका सबैखाले समस्या समाधान गर्न सधँै तयार हुने उनले बताए ।