महालक्ष्मी, धनकुटाः आफ्नै गाउँघरमा रोजगारी भएन भन्दै विदेशिने युवाहरूको सङ्ख्या अहिले पनि प्रतिदिन बढिरहेको छ । युवाहरू रोजगारका लागि विदेशिएका कारण गाउँघरमा युवा जनशक्तिको ठूलो अभाव खड्किरहेको छ ।

जनसङ्ख्या कम हुने पहाडी जिल्लाका नगरपालिका र गाउँपालिकाहरूका युवाहरू रोजगारका लागि विदेशिने क्रम नरोकिएकाले श्रमशक्तिको अभाव शुरु भएको छ । जसका कारण विकास र सुन्दर समाज निर्माणमा बाधा पुगिरहेको छ । यस्ता समस्यालाई हल गर्नका लागि धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाले ‘विदेश नजाऊ, गाउँमै रमाऊ’ नामक कार्यक्रम ल्याएको छ ।

चालु आर्थिक वर्षको नगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा महालक्ष्मी नगरपालिकाभित्रका युवा जनशक्तिलाई गाउँमै रोकी उनीहरूको क्षमतालाई नगरपालिकाले स्थानीय तहमै प्रयोग गराउने उद्देश्यले ‘विदेश नजाऊ, गाउँमै रमाऊ’ भन्ने कार्यक्रम ल्याइएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए ।

‘अहिले हाम्रो महालक्ष्मी नगरपालिकामा लगभग २५ हजार जनसङ्ख्या छ । कुल जनसङ्ख्यामध्ये झण्डै १ हजार ५ सयको हाराहारीमा रोजगारका लागि युवाहरू विदेशिएका छन्, मेयर नेपालले भने, ‘विविध कारणले पहाडी जिल्लाका स्थानीय तहमा बसोबासका हिसाबले जनसङ्ख्या कम छ । त्यसमा पनि युवाशक्ति नै रोजगारका लागि विदेशिएपछि विभिन्न समस्याहरू आइपरेकाले नगरपालिका गम्भीर भएर ‘विदेश नजाऊ, गाउँमै रमाऊ’ ल्याइएको हो ।’

समयमै युवा जनशक्ति रोक्ने काम नगरे नगरपालिकाले विकास निर्माणदेखि लिएर मानवसंशाधन विकासमा लिएको लक्ष्य प्राप्त गर्न नसक्ने ठहर गर्दै यसै चालु आर्थिक वर्षदेखि रोजगारका लागि विदेशिने युवाहरूलाई रोक्नैपर्ने भएकाले यो कार्यक्रम लागू गरिएको मेयर नेपालले जनाए ।

मेयर नेपालका अनुसार ५ वर्षभित्रमा नगरपालिका क्षेत्रभरका २ हजार युवाहरूलाई आफ्नै गाउँघरमा सीपमूलक तालीम प्रदान गरी स्वरोजगार बनाउने योजनाका साथ नगरपालिकाले आवश्यक योजना अगाडि बढाइसकेको छ । त्यसका लागि नगरपालिकाले कार्यविधि नै बनाएर ५ वर्षभित्रमा २ हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको मेयर नेपालले बताए ।

कार्यविधि निर्माणका लागि नगरपालिकाले नगरक्षेत्रका र बाहिरका विज्ञहरूसँग एक चरणको छलफल गरिसकेको मेयर नेपालले बताए । ‘कार्यविधि बनाएर सम्भवत दशैं तिहारपछि जसरी भए पनि युवा जनशक्ति रोक्ने ‘विदेश नजाऊ, गाउँमै रमाऊ’ कार्यक्रम सञ्चालनमा आउनेछ,’ उनले भने ।

कार्यविधि बनाएपछि सर्वप्रथम विपन्न परिवारका युवाहरू जो परिवार चलाउनकै लागि रोजगारका लागि विदेशिन खोजिरहेका छन्, उनीहरूको पहिचान गरिने छ ।

त्यसैगरी विदेशबाट आएकाहरूको पनि पहिचान गरिने छ । पहिचान गरिएका युवाहरूमा कुनै सीप भए नभएको बुझेर आवश्यक सीपमूलक तालीम नगरपालिकाले प्रदान गर्ने मेयर नेपालले बताए ।

नगरपालिकाले कृषि, घरेलु उत्पादन, पर्यटनलाई विशेष महत्व राखेर २ हजार युवाहरूलाई सीप प्रदान गर्ने छ । त्यति मात्रै होइन, सीप पाएका युवाहरूलाई तत्काल उत्पादन क्षेत्रमा लागिहाल्नका लागि नगरपालिकाले सहुलियतमा ऋणको समेत व्यवस्था गर्ने मेयर नेपालले बताए ।

२ हजार युवालाई सीप प्रदान गरी गाउँघरमै रोजगार दिनका लागि पूँजीको अभाव नहोस् भनेर बढीमा १० प्रतिशत ब्याजदरमा ऋण समेत उपलब्ध गराउने योजना नगरपालिकाले बनाएको मेयर नेपालले बताए । त्यसका लागि नगरपालिकाले नै विशेष कोषको व्यवस्था गर्ने योजनासहित काम अगाडि बढाएको मेयर नेपालले बताए ।

२ हजार युवाहरूले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरण गर्नेसम्मको योजना बनाएको मेयरले बताए । महालक्ष्मी नगरपालिका रुद्राक्ष उत्पादनको दृष्टिले धनकुटा जिल्लाकै पकेट क्षेत्रभित्र रहेकाले रुद्राक्ष उत्पादनमा पनि युवाहरूलाई लगाइने छ । कृषि उत्पादनमा पनि उनीहरूलाई लगाइने छ ।

उनीहरूले उत्पादन गरेका कृषिजन्य वस्तुहरू घरघरबाट सङ्कलन गरी वडाको निश्चित स्थानमा ल्याएर राख्नका लागि सङ्कलन केन्द्र निर्माणको काम पनि यसै चालु आर्थिक वर्षबाट थाल्ने मेयर नेपालले बताए ।

‘विदेश नजाऊ, गाउँमै रमाऊ’ कार्यक्रम सञ्चालन भई आफ्नै गाउँघरमा रोजगारी सिर्जना भएपछि विदेशिने युवाहरू आफ्नै परिवारसँग आफ्नै घरमा बसेर रमाउन पाउने मेयरले बताए । नगरपालिकाका कतिपय गाउँटोलमा युवाहरू विदेशिएकाले वृद्धहरू र बालबालिकाहरू मात्र रहेको पाइएकाले यो कार्यक्रम लागू भएपछि सो समस्याको पनि हल हुने उनको भनाइ छ । उनीहरूलाई नगरपालिकाले आवश्यक परेका बेला विकास निर्माण लगायत नगरको हितमा परिचालन समेत गर्न पाउने मेयर नेपालको भनाइ छ ।

 

rudraksha salik mahalxmi DKT