इटहरीः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आफू पार्टीलाई एक बनाएर लैजान तयार रहेको बताएका छन् । मोरङको विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काङ्ग्रेस गुटले भन्दा पनि गिरोहले चलिरहेको र अब आफूले गिरोह हटाएर काङ्ग्रेसलाई एक ढिक्का बनाएर लैजाने बताए ।

नेपाली काङ्ग्रेस तरुण विभाग मोरङद्वारा आयोजित ‘तरुण युवासँग काङ्ग्रेस’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले कार्यकर्ताहरू गुटबन्दी र गिरोहको मारमा परेकाले आफू कार्यकर्ताको भावनाअनुसार नै गुटबन्दी अन्त्य गर्न लागिपरेको बताए । 

पहिले काङ्ग्रेसभित्र विचारको लडाइँ भएको तर अहिले गुट र गिरोहको राजनीति हाबी भएको उनले बताए । कार्यकर्ताले गुट र गिरोहका कारण धेरै पीडा भोगेकाले अब काङ्ग्रेसलाई बीपीको पालामा जस्तै शक्तिशाली बनाउने उनले वाचा गरे ।

अब तरुणहरू आफैँ जागरुक नभई काङ्ग्रेस पार्टी वा देश जनताले सोचेजसरी अगाडि बढ्न नसक्ने उनको बुझाइ छ । राजनीतिक दलसँग पारदर्शिता, इमान्दारिता, नैतिकता र भ्रष्टाचार नहोस् भन्ने युवाले चाहिरहेको अवस्थामा त्यो कुरा नपाएको उनको भनाइ छ ।

अहिले राजनीतिक दल आफैँमा मात्र केन्द्रित भइरहेका हुनाले गाउँबाट जिल्ला र जिल्लाबाट केन्द्रको दूरी बढिरहेको उनले बताए । यसले सङ्घीयताको अभ्यासमा नकरात्मक भूमिका खेलेको उनको बुझाइ छ । काङ्ग्रेसले अब युवा विद्यार्थीसँग नियमित सम्पर्क र अन्तरक्रिया गर्न जरुरी रहेको उनले बताए ।