बेलबारी महिनावारीका कारण विद्यालयमा पढाइ छुटाउने बेलवारीका छात्राहरूको पढाइ नियमित हुन थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेका बेला सेनेटरी प्याडले समेत विद्यार्थीको आकर्षणलाई बढाइरहेको हो ।

‘पहिला हामीले महिनावारी भएको समयमा विद्यार्थीहरूलाई आराम गर्ने रेष्टरुम बनाएका थिएनौँ’ जनता मावि बेलबारी ९ का प्रधानाध्यापक टेक नारायण शाहले भने ‘अहिले विद्यार्थीको पेट दुख्दा समेत त्यही आराम गर्छन् ।’ उनका अनुसार रेष्टरुममा एउटा खाट, डसना, सिरक, सिरानी, तन्ना, फेन, बाल्टी हात धुने साबुन तथा खानेपानीको समेत व्यवस्था गरिएको छ ।

नगरपालिकाले प्याड बनाउन सिकाएपछि विद्यार्थीको आकर्षण बढेको विद्यालयहरूले बताएका छन् । महिनावारी भएको समयमा पठनपाठनलाई नै माया मारेर विद्यालय नआउने विद्यार्थीहरूका लागि घरमै बनाउन सकिने सेनेटरी प्याडले सहयोग पुगेको नगरपालिकाका शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइरालाले बताए । ‘महिनावारी शारीरिक परिवर्तन हो भन्ने धेरै विद्यार्थीलाई थाहा पनि थिएन’ शिक्षा अधिकृत एलिना बस्नेतले भनिन ‘समयमै जानकारी गराउँदा पठनपाठनमा कुनै समस्या आँउदैन् ।’
आफैले घरमा प्याड बनाउन विद्यार्थीलाई सिकाउँदा फाइदा पुगेको उनले बताइन । नगरपालिकाले सेनेटरी प्याड बनाउन चाहिने केही सामाग्रीसहित स्यानेटरी सेप्टी किड्स समेत विद्यालयलाई प्रदान गरेको थियो ।

कक्षा ६ देखी १० कक्षासम्म २५ सय भन्दा बढी छात्रा नगरपालिकामा रहेको शिक्षा शाखाको तथ्याङ्क रहेको छ । सामुदायिक विद्यालयहरूले बिधुतीय हाजिरी, शिक्षक ,विद्यालय सम्मान तथा विद्यार्थी खाजा कार्यक्रम जस्ता कार्यक्रम गरेर पढाइको गुणस्तर देखी नियमित विद्यालय आउने बनाउनका लागि विभिन्न शैक्षिक गतिविधिहरू गरिरहेको मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।
यस्तै बेलबारी जेसिजले समेत छात्रा विद्यार्थीलाई प्याड बनाउने तालिम दिन थालेका छ ।

मङ्गलवार देखि तीन दिनसम्म सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई तालिम दिइने बेलबारी जेसिजका निवर्तमान अध्यक्ष राजन प्रसाईँले बताए । प्रसाईकाअनुसार मङ्गलवार लक्ष्मी माध्यमिक बुधवबार कसेनी माध्यमिक र बिहीबार धनपाल माध्यमिक बिद्यलायमा ३ सय बढी विद्यार्थीलाई सेनटरी प्याड बनाउन सिकाईदैछ । नगरमा ३३ वटा सामुदायिक बिद्यलाय रहेका छन् ।
तस्विर÷ बेलबारी जेसिजले आयोजना गरेको सेनेटरी प्याड बनाउने तालिममा सहभागी भएका विद्यार्थीहरू