धरानः नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ इञ्चार्ज भीम आचार्यले जनतामा भ्रम फैलाउँदै नेकपाको नेतृत्वमा रहेको सरकारलाई कमजोर पार्ने खेलमा दक्षिणपन्थीहरू लागेको आरोप लगाएका छन् ।
नेकपाको धरान उपमहानगर कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले प्रतिक्रियावादी शक्तिहरू एक ठाउँमा उभिएर नेकपाको विरुद्धमा भ्रम सिर्जना गर्न खोजिरहेको अवस्थालाई चिर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोसम्म पुग्न उनले निर्देशन दिएका छन् ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले गरेको समृद्धिका एजेण्डालाई जनतासम्म पु¥याउन उनले निर्देश गरे । उनले भने, ‘प्रतिक्रियावादी शक्ति अहिले एक ठाउँमा उभिएका छन्, उनीहरूले जनतामा भ्रम सिर्जना गरेर नेकपालाई कमजोर बनाउन खोज्दैछन्, त्यसका लागि सम्पूर्ण तह र तप्काका नेता तथा कार्यकर्ताहरूले जनतालाई साथमा लिन आवश्यक छ ।’
कम्युनिष्टप्रतिको जनताको विश्वास र अपेक्षालाई शिरोपर गर्दै अब उपनिर्वाचनको तयारीमा लाग्न पनि उनले निर्देश गरे । नेकपाको नेतृत्वमा रहेको सङ्घीयदेखि स्थानीय सरकारको विकास र समृद्धिको एजेण्डालाई जनताको घरदैलोसम्म पु¥याउन उनले आग्रह गरे ।
उनले भने, ‘लोकतन्त्रको अभ्यास काङ्ग्रेसले गरेको छैन । काङ्ग्रेस र राजाको पालामा भन्दा १२ गुणा बढी देश विकासको काम नेकपाले गरेको छ ।’ अब जनता र राष्ट्रको जीवनस्तर उकास्ने जिम्मेवारी नेकपामा आएको बताउँदै जनतालाई साथीको रूपमा लिएर अघि बढ्न उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
नेकपा धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको शपथ ग्रहण तथा प्रथम पूर्ण बैठक कार्यक्रममा नेकपाका प्रदेश सह इञ्चार्ज, सुनसरी जिल्ला इञ्चार्ज लगायतका नेताहरूले मंसिर १४ गते उपनिर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन् ।