इटहरी: नेपाली काँग्रेसका कार्यकर्ताले काँग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालालाई गुटबन्दीकाे अन्त कहिले हुन्छ भन्दै प्रश्न गरेका छन् । मोरङको सुन्दरहरैचा ३ वडा समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गुटबन्दी अन्त्य नगरे पार्टी झनै कमजोर हुने कार्यकर्ताले सुझाव दिएका छन् ।
काँग्रेस कार्यकर्ताको भावना बुझ्न वडास्तरको भेटघाटमा लागेका कोइरालालाई कार्यकर्ताले गुटबन्दी अन्त्य गरिदिन माग गरेका हुन् । सुन्दरहरैचा २ का दिवस श्रेष्ठले तरुण दलदेखि नेबिसङ्घसम्म गुटबन्दीको मारमा परेको भन्दै भातृसंगठनको अधिवेशन चाँडो गर्न माग गरे ।
त्यस्तै अर्का युवा कुन्दन ढुङ्गानाले गुटको अन्त्य कहिले हुन्छ? भन्दै प्रश्न गरे । 'हामी जस्ता कार्यकर्ता लाई गुटबन्दीले निराश बनाएको छ उनले भने 'गुठबन्दी अन्त्य गरेर पाटी एक ढिक्का बनाउनुपर्ने कार्यकर्ताकाे भावनालाइ ठेस लाग्न दिनुभएन ।'
राजकुमार नेपालीले पनि नेताको गुटबन्दीले लाजमर्दो अवस्था सृजना भएको बताए । नेताले जनताको घरमा आएर पानी खान सक्नुपर्ने उनको भनाइ छ । 'नेता र जनताको बिचमा पुल बनाएर निरन्तर सम्पर्क गर्ने अवस्था सृजना गरिनुपर्छ ।' उनले भने ।
कार्यक्रमको अन्त्यमा बोलेका कोइरालाले कसैको इसारामा नहिँड्न कार्यकर्तालाई आग्रह गरे । आफू गुटबन्दी अन्त्यको अभियानमा लागेकोले त्यसमा साथ दिन कार्यकर्तालाई आव्हान गरे ।