बेलबारीः बेलबारी नगरपालिकाले सामुदायिक विद्यालयको पठन पाठनको गुणस्तर बढाउनका लागि नयाँ रणनीति अपनाएको छ । कार्य सम्पादन गर्नका लागि विद्यालय तथा शिक्षक शिक्षक बिच प्रतिस्पर्धा गराइने भएको छ ।

नगरपालिकाले १२ शीर्षकमा ८८ सूचक तयार पारेर विद्यालयका प्रध्यानाध्यापकसँग सम्झौता नै गरेको छ । उक्त सम्झौतामा २सय ६४ पुर्णाङ्कक दिएको छ भने विद्यालयका प्रध्यानाध्यापकहरुले ७० देखी ८० प्रतिशत अङ्क ल्याउने भनेर सम्झौता गरेका छन् । सामुदायिक विद्यालयमा शिक्षक शिक्षक तथा विद्यालय विद्यालय बिचको प्रतिस्पर्धा गराई उनीहरूले गरेको कामको मूल्याङ्कनका आधारमा अङ्क दिइने जनाइएको छ ।

प्रअ तथा शिक्षक शिक्षकाहरुको नामसहित कार्य सम्पादन मूल्याङ्कनमा आएको प्रतिशत अभिभावकले देख्ने गरी टास गरिने नगरपालिकाका शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइरालाले बताए । ‘विद्यालयको भौतिक संरचनाको अवस्था, शिक्षकहरूको अवस्था, विद्यार्थी मूल्याङ्कन, नेतृत्व र व्यवस्थापन,अतिरिक्त क्रियाकलाप, सिकाई उपल्बधी, सेवाग्राही सन्तुष्ट, शिक्षकको पेसागत सुन्तुष्टि, नियमित विद्यालय छाड्ने तथा दोहोर्याउने दर लगायतका १२ शीर्षक दिएर सम्झौता गरेका छौँ ।’ प्रमुख कोइरालाले भने ‘उहाँहरूले गर्नु भएको कामको आउँदो शैक्षिक सत्रमा त्यसको प्रतिफल आउँछ ।’

एउटा सूचकमा शून्य देखी ३ नम्बर सम्म नम्बर दिन मिल्ने गरी सूचक तयार गरिएको छ । ‘शिक्षकहरू आफै पहिला आफ्नो मूल्याङ्कन गर्नुहुन्छ’ प्रमुख कोइरालाले भने । ‘वि.स.२०७७ वैशाख मसान्त भित्र नगरपालिकामा विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय सहित पेस गर्नु हुन्छ ।’ उनले थपे– ‘विद्यालयका प्रअ र सबै शिक्षकलाई सम्बन्धित वडाको जनप्रतिनिधि सहित राखेर स्वमुल्यांकन गरेका आधार सहित र पुष्टि गर्ने कागजात मागेर त्यही पस्न मूल्याङ्कन गरी सार्वजनिक गर्छौ ।

शिक्षा शाखाकी अधिकृत एलिना बस्नेतले पहिलो चरणमा प्रध्यानाध्यापकसँग सम्झौता गरेको बताइन् । उनले सबै शिक्षकहरूसँग सम्झौता गर्ने पनि जानकारी दिइन् । नगरपालिकाले कार्यसम्पादनमा उत्कृष्ट हुन विद्यालय, प्रधानाध्यापक ,शिक्षकलाई प्रोत्साहन तथा सम्मान गर्ने योजना बनाएका छौ । उनले कार्य सम्पादनमा ७० देखी ८० प्रतिशत सम्म अङ्क ल्याएर उत्तीर्ण नहुने प्रध्यानाध्यपाक तथा शिक्षकको नाम प्राप्ताङ्क सहित टाँस्ने बताइन् ।

बस्नेतका अनुसार खेल मैदान, गार्डेन, सरसफाइ,खेलकुद सामाग्री , पुस्तकालय बुक कर्नर,विज्ञान प्रयोगशाला शौचालय भए नभएको, कक्षा कोठाको गुणस्तर फर्निचर, कम्पूटर उपलब्धता,शिक्षण सिकाइमा कम्पुटरको प्रयोग,शैक्षिक सामाग्रीको प्रयोग वार्षिक तथा दैनिक शैक्षणिक योजना बनाए नबनाएको प्रश्न पत्रको निर्माण उत्तर पुस्तिका परीक्षण जस्ता सूचकहरू निर्माण गरिएका छन् । नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली तथा प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहको रोवरमा सम्झौता गरिएको छ ।
नगरपालिकामा ३३ वटा सामुदायिक विद्यालय मध्ये १२ वटा माध्यमिक रहेका छन् भने २१ वटा आधारभूत विद्यालय रहेका छन् ।