इटहरीः प्रदेश १ मा १४ जिल्लाहरू छन् । सबै जिल्लामा आ–आफ्ना मौलिक धार्मिक, सांस्कृतिक, साहसिक र अन्य पर्यटकीय प्याकेजहरू छन् । अन्य जिल्लामा जस्तै सुनसरीमा प्रदेशकै गरिमा बोक्ने खाले विभिन्न पर्यटन प्याकेजहरू छन् । यसमा साहसिक पर्यटन प्याकेज अग्र पङ्त्तिमा आउँछ । यी हुन् सुनसरीमा मात्रै भएका प्रदेश १ का ६ साहसिक व्यावसायिक पर्यटन प्याकेजहरूः

१. मोटर बोटिङ
इटहरीको वडा नम्बर २ र ३ मा फैलिएको पर्यटकीय जलाधार क्षेत्र तालतलैयामा सञ्चालनमा आएको मोटरबोट १० सिट क्षमताको छ । यो प्रदेश १ को पहिलो र एक्लो व्यावसायिक मोटर बोट हो । तालतलैया व्यवस्थापन समितिका अनुसार मोटरबोटले ५ मिनेटमा तालतलैया क्षेत्रमा एक फन्को लाउँछ । यसको सेवा शुल्क प्रति व्यक्ति १ सय रुपैयाँ रहेको छ । यो प्याकेजको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।
न्यूनतम ४ फिट गहिरो पानीमा चल्ने मोटरबोटका लागि तालतलैया क्षेत्रको प्राकृतिक पानी काफी भएको मोटरबोट चालक धनबहादुर पाण्डेले बताए ।

२. जेट बोटिङ
जेट बोटिङ सप्तकोशी नदीमा हुन्छ । सप्तकोशी नदीको उदयपुर, सुनसरी र भोजपुर क्षेत्रसम्म जेट बोट सञ्चालन भए पनि यसको स्वामित्व र दर्ता भने सुनसरीमै रहेको छ । वराहक्षेत्रका मेयर नीलम खनाल र उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले जेट बोट चढेर यसको परीक्षण सञ्चालन गरेका थिए ।
सप्तकोशी नदी हुँदै जल यातायात गर्न वराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याएको थियो । कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार यो परियोजना पर्यटन र पारवाहन दुवै कोणमा सञ्चालन गरिएको हो ।

३. प्याराग्लाइडिङ
प्याराग्लाइडिङ भन्नेबित्तिकै पोखरा भन्ने आम पूर्वेलीको बुझाइमा परिवर्तन गर्दै पूर्वको धरानबाट व्यवसायिक प्याराग्लाइडिङ शुरु भएको छ । धरानका व्यवसायी रोशन अधिकारीले २०७२ सालको असोज २२ गतेबाट व्यवसायिक उडान शुरु गरेसँगै हाल उनको कम्पनीबाट सयौंले पूर्वी आकाशमा प्याराग्लाइडिङको मज्जा लिइसकेका छन् ।
धरान स्काइ एडभेन्चर सँगै धरानमै बुढासुब्बा प्याराग्लाइडिङ समेत सञ्चालनमा आएको थियो । स्थानीय लेखमणि जिमी, राम राई, तथा चन्द्र राईले ०७३ सालको मंसिर २७ बाट शुरु गरेको बुढासुब्बा प्याराग्लाइडिङमा तीन जना पाइलटले सेवा दिने गर्थे । तर हाल सो कम्पनी बन्द भएको सञ्चालक बताउँछन् ।

४. व्यावसायिक र्याफ्टिङ
त्रिशुली तथा भोटेकोशीमा मात्रै गरिँदै आएको व्यावसायिक ¥याफ्टिङ पूर्वमा पनि शुरुवात भएको छ ।
२०६२ सालबाट धरानमा मदन ढकालले सञ्चालन गरेको तमोर रिभर ¥याफ्टिङ शुरु भएसँगै ¥याफ्टिङ शुरु भएको हो ।
इटहरीका व्यवसायी सुरेश बस्नेतले पनि २०७३ सालको बैशाख ८ गतेबाट ¥याफ्टिङ शुरु गरेका छन् । हाल एक व्यक्तिको एक दिने ¥याफ्टिङ शुल्क ३ हजार र रात्रि प्याकेजमा भने प्रतिदिन ६ हजार रुपैयाँ पर्ने व्यवसायीहरू बताउँछन् ।

५. व्यवसायिक माउन्टेन बाइकिङ
२०७१ साल देखि धरानबाट पूर्वमा व्यावसायिक माउन्टेन बाइकिङको शुभारम्भ भएको छ । माउन्टेन बाइकिङको लागि धरानदेखि भेडेटार, धनकुटा, हिले, वसन्तपुर हुँदै गुफापोखरीसम्मको कोशी क्षेत्रको रुट तय भएको छ ।
यस्तै, ‘इस्टर्न सर्किट’ भनेर धरानबाट धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ हुँदै सुनसरीको धरानमै आउने रुटमा विश्व साइकलयात्री पुष्कर शाह समेत सहभागी भइसकेका यसका अभियन्ता कृष्ण केसी बताउँछन् ।
टस्क माउन्टेक बाइक स्टोर्सका सञ्चालक समेत रहेका केसी पूर्वका रुटहरू गाइड मात्रै गरेको दैनिक ५ सय तथा खाना र बासको समेतको लागि १ हजार रुपैयाँ लिने गरेको बताउँछन् । साइक्लिङ धरान नाम रहेको उक्त माउन्टेन बाइकिङ समूहको संरक्षक विश्व साइकल यात्री पुष्कर शाह रहेका छन् ।

६. जङ्गल सफारी
जङ्गल सफारी भन्ने बित्तिकै चितवन र बारा भन्ने आम बुझाइको अन्त्य गर्दै धरानका चर्चित पर्यटन व्यवसायीहरू बासुदेव बराल र एलिना मगरले सुनसरीमै जङ्गल सफारीको प्रारम्भ गरे ।
धरानबाट तल्लो पानमारा, बाङ्गे, प्रकाशपुर हुँदै अर्नाको लागि प्रसिद्ध कोशी टप्पु वन्यजन्तु आरक्ष सम्मको एक दिने यात्रा रहेको जङ्गल सफारीको सुरुवात २ वर्ष अगाडि भएको हो । धरानमा ब्रेकफास्ट गरेर, कोशी टप्पु पुगेर लन्च गर्दै चौधरी गाउँ घुमेर ग्रामीण यात्राको मज्जा पनि लिन पाइन्छ । हात्ती चढ्ने, बोटिङ गर्ने, कोशी किनारमा सामुद्रिक तटको मजा लिने अनि कोशी टप्पु आरक्ष क्षेत्रमा पाइने अर्ना र डल्फिन अवलोकन गर्दै नास्ता गरेर चारकोशी झाडी हुँदै धरान आउने जङ्गल सफारीको प्याकेज थियो ।
सेवा शुल्क २ हजार ५ सय रुपैयाँ रहेकोमा हाल यो सेवा बन्द छ । आरक्ष प्रशासनको असहयोग र जङ्गली हात्तीका कारण केही समयको लागि बन्द भएको व्यवसायी बताउँछन् । ती पक्षमा सुधार भए प्रदेशको पहिलो जङ्गल सफारी सेवा पुनः सञ्चालन हुने बराल बताउँछन् ।