विराटनगरः अब प्रदेश एक सरकारले कर्मचारी भर्ना गर्न सहज भएकाे छ । मंगल वार बसेकाे बैठकले प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभा बैठकमा पेश गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतले परित गरेको हो । 

प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा संसोधन गरेपछि थप छलफलका लागि सुशासन तथा योजना समितिमा पठाइएको थियो ।

प्रदेश लोकसेवा आयोगको गठनमा तीन सदस्य रहने व्यवस्था छ । जसमा एक महिला अनिवार्य भनिएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले प्रतिवेदनसहित प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ सभामा पेश गरेका थिए ।

विधेयक पारितसँगै प्रदेश सरकारले आवश्यक कर्मचारी लोकसेवा मार्फत नियुक्ति गर्न सक्ने छ ।  सरकारका लागि आवश्यक दरबन्दीको कर्मचारी लोकसेवा मार्फत विज्ञापन खुलाएर पदपूर्ति गर्न पाउने छ । 

कर्मचारी अभावमा साेचेअनुसार काम हुन नसकेकाे जनाएकाे सरकारले झण्डै एक तीहाइ कर्मचारीकाे भरमा काम गर्नुपर्ने बाध्यता रहेकाे जनाएकाे छ ।