विराटनगरः प्रदेश एकका मुख्य प्रमुख सचिव सुरेश अधिकारले सुगम ठाउँमा कर्मचारी सरुवाका लागि सांसदहरूले समेत प्रेसर दिने गरेको बताएका छन् । आज प्रदेश सभाको सुशासन तथा योजना समितिले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अधिकारीले चौतर्फी दबाब आएपछि शुसासनमैत्री प्रशासनप्रति औला उठ्न सक्ने सङ्केत गरे ।

उनले झापा, मोरङ र सुनसरी मात्र कर्मचारीको रोजाइ हुन थालेको भन्दै विकट पहाडी र हिमाली जिल्ला एकदमै कम कर्मचारी जाने गरेको जानकारी दिए । उनले सांसदहरूले समेत आफ्नो निर्वाचित क्षेत्र भन्दा सुगम स्थानमा कर्मचारी सरुवाका लागि दबाब दिने गरेको बताए । सुगम ठाउँ त्यसै विकसित भएको भन्दै विकट ठाउँ बनाउनुपर्ने अवस्था रहेको र अब देखि आफुुलाइ दबाब नदिन समेत अधिकारीले सांसदहरूलाई आग्रह गरेका छन् ।

सुसानमैत्री प्रशासनका चुनौतीबारे बोलेका उनले ८ चुनौती महत्त्वपूर्ण रहेको तर्क गरे । दक्ष जनशक्ति नहुँदा सरकारले निर्धारण गरेको लक्ष्य हाँसिल गर्न अप्ठ्यारो भइरहेको बताए । त्यस्तै खर्चिलो अनुगमन पद्धति अर्को चुनौती रहेको पेस गरे ।

कामको उपलब्धि भन्दा पनि प्रक्रियामा अल्झिँदा सेवाग्राहीले समेत झन्झट बेहोर्नुपरेको र नजिजामा समेत उल्लेख्य प्रगति हाँसिल नभएको पाइएको उनको अनुभव छ । अधिकारीले कर्मचारीतन्त्रमा जनमुखी र जनउत्तरदायी सेवाप्रवाहको कमी भइरहेको उल्लेख गरे ।