भेडेटारः प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेशका सबै घरधुरीमा ३ वर्ष भित्र बिजुली पुर्याइसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज धनकुटाको भेडेटारमा आयोजित सोलु कोरिडोर प्रसारण लाइन विस्तार सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा राईले प्रदेश विद्युत् उत्पादनमा आत्मनिर्भर बन्दै गएको समेत जानकारी दिए ।
उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदेश सरकारको लक्ष्य पुरा गर्नका लागि सहयोग गर्न समेत आग्रह गरे । विद्युत् विस्तारका लागि भइरहेका बाधालाई सरकारले सक्रियताका साथ समाधान गर्ने प्रयास गर्ने भन्दै प्रदेश सरकारले तोकेको सीमा भन्दा अघि नै लक्ष्य पुरा गरिदिन आग्रह गरेका हुन् ।
प्राधिकरणका निर्देशक कुलमान घिसिङले कावेली, कोसी र सोलु कोरिडोरलाई एउटै लाइनमा जोड्ने गरी अध्ययन भइरहेको भन्दै प्रदेश एक विद्युत् उत्पादनका लागि सम्भावना भएको स्थान भएको उल्लेख गरे । उनले चाँडै सरकारको लक्ष्य पुरा गर्न सकिने भन्दै विभिन्न अप्ठ्यारा पार गर्न सबैले भूमिका खेलिदिन आग्रह गरे ।
सोलु कोरिडोरमा निर्माणाधीन अवस्थामा रहेका ५ विद्युत् उत्पादन कम्पनीहरूले आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
प्रदेश एकमा २३ आयोजनाले विद्युत् १ सय ४७ मेगावाट विद्युत् उत्पादन गरिरहेका छन् भने ४ सय १८ मेगावाट क्षमताका २५ विद्युत् अयोाजना निर्माणको चरणमा रहेका छन् ।