धरानः करीब २ दशक अघि सरकारले प्रवीणता प्रमाण पत्र तह खारेज गरेपछि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको थियो । तर पछिल्लो समय स्नातक तहमा विभिन्न सङ्कायको अध्ययन थप हुन थालेपछि विद्यार्थीको रोजाइमा पर्न थालेको छ ।
२०१२ सालमा स्थापना भएको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस एक समय पूर्वकै उत्कृष्ट कलेजको रूपमा स्थापित थियो । तर सरकारले प्रवीणता प्रमाणपत्र तह खारेज गरेपछि विद्यार्थी न्यून भएका थिए ।
पछिल्लो ४ वर्ष यता भने क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । स्नातक तहमा विभिन्न सङ्कायको अध्यापन हुन थालेपछि विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ ।
केही पहिले भारतीय दूतावासबाट निर्मित नेपाल– भारत मैत्री भवनका कक्षा कोठामा विद्यार्थी कहाँबाट ल्याउने भन्ने चिन्ता हुने गथ्र्यो । प्रमाणपत्र तहको खारेजीपछि नयाँ भवन खण्डहरजस्तै भएको थियो । अहिले आएर त्यो भवनको पनि प्रयोग भइरहेको छ । स्नातक तहमा नयाँ कार्यक्रम आएपछि विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । क्याम्पस प्रमुख दामोदर भण्डारीले भने, ‘समग्रमा ११ र १२ कक्षामा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या पनि बढ्यो । विद्यालयको रिजल्ट पनि राम्रो भयो त्यसैले ब्याचलर लेभलमा विद्यार्थीको सङ्ख्या पनि बढ्दै गएको हो ।’
क्याम्पसमा ब्याचलर र मास्टर्सका लागि मानविकी, शिक्षा, कानुन र व्यवस्थापन ४ ओटा सङ्कायको कार्यक्रम सञ्चालित छ । शिक्षामा १ वर्ष र ४ वर्ष, व्यवस्थापनमा बीबीएस, बीबीए र बीबीएम कार्यक्रम रहेको छ भने मास्टर्सतर्फ मानविकीमा नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र र राजनीतिशास्त्रको पढाइ हुन्छ ।
व्यवस्थापनमा एमबीएस, र शिक्षाशास्त्रमा अङ्ग्रेजी र नेपाली विषयको पढाइ हुने गरेको छ ।
क्याम्पस प्रमुख भण्डारीका अनुसार क्याम्पसमा अध्ययन हुने सङ्कायमा २ हजार ५ सय ७४ जना विद्यार्थी अध्ययनरत छन् । उनले भने, ‘अहिले शैक्षिक गुणस्तर सुधारको कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौं । मास्टर्स र ब्याचलरमा हामीले प्रविधिमैत्री शिक्षणमा प्राथमिकता दिएका छौं ।’
विद्यार्थीको आकर्षणलाई थप गर्न हरेक कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था गरिएको तथा बीबीए वा बीबीएमका सेमेस्टर सिस्टमका विद्यार्थीलाई टेक्स्ट बुक १÷१ ओटा उपलब्ध गराइएको छ । पूर्वाधारयुक्त भवन, सुविधासम्पन्न पुस्तकालयका कारण पनि विद्यार्थीलाई अध्ययनमा सहज बनाएको छ । क्याम्पसमा करीब ४४ हजारभन्दा बढी पुस्तक राखिएको छ । पुस्तकालय भवनको क्षमता भने कम भएकाले सहज रूपमा विद्यार्थीलाई उपलब्ध गराउन केही समस्या भएको भण्डारीले बताए । उनले भने, ‘केही असहज भएको छ, तर भौतिक संरचना थप्ने योजनामा रहेका छौं ।’
क्याम्पसका १ सय ४० जना शिक्षक र कर्मचारी छन् । भण्डारीका अनुसार ८० जना पूर्णकालीन शिक्षक छन् भने २० जना कर्मचारी र बाँकी आंशिक शिक्षक छन् । भौतिक पूर्वाधारयुक्त, मानव संशाधनको हिसाबले पनि पर्याप्त उपलब्धता र गुणस्तरीय शिक्षा प्रदान गर्ने क्याम्पस भएकाले अहिले मास्टर्स र ब्याचलर मात्रै सञ्चालन भइरहँदा पनि पहिलेभन्दा राम्रो हुँदै गएको छ ।
न्यून विद्यार्थी हुँदा करीब ६ सय विद्यार्थी सङ्ख्या रहेकोमा अहिले भने २ हजार ५ सय ७४ विद्यार्थी अध्ययन गरिरहेका छन् । भौतिक संरचना र विद्यार्थीमैत्री पूर्वाधारयुक्त क्याम्पसमा अझै विद्यार्थीको आकर्षण बढाउन प्रविधिमैत्री शिक्षणलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए ।
क्याम्पसले बीबीए, बीबीएम, बीएड, एमएड, मास कम्युनिकेशन, भाषा विज्ञान लगायतका विषय अध्यापन गराउन थालेपछि विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । तर समयमै क्याम्पसले नयाँ भर्नाको सूचना निकाल्न नसक्दा भने विद्यार्थी निजी क्याम्पसमा जान बाध्य छन् ।
भण्डारीले भने, ‘निजी विद्यालयले भर्ना सूचना सार्वजनिक गरिसकेको हुन्छ, हाम्रो चाहिँ टियुबाट सर्कुलर नै आएको हुँदैन । रिजल्ट आउट हुनेबित्तिकै नयाँ भर्नाका लागि आह्वान गर्न पाए अझै विद्यार्थी बढ्ने थिए ।’