महालक्ष्मी; धनकुटाः गाउँगाउँका जनतालाई नगरपालिकाको केन्द्रसँग जोड्नका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले गौरवका योजना बनाई सडक बिस्तारलाई तीव्रता दिएको छ । महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार प्रवेशका लागि माकुराको जालोझैँ चारैतिरबाट सडक विस्तारको कामलाई तीव्रता दिइएको हो ।

नगरपालिकाले नियम बनाएर ठूला सडक १४ मिटर, मध्यम खालका १० मिटर र ट्रयाक खोलेका सडकहरूको ६ मिटर चौडाइ कायम गरी सडक विस्तारको कार्यलाई तीव्रता दिइएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । राज्यको पुनर्संरचना हुनुअघि अर्थात् महालक्ष्मी नगरपालिका बन्नुअघिका साबिकका गाविसहरूको केन्द्रका रूपमा जिल्ला सदरमुकाम धनकुटा रहेको र पुनसंरचनापछि ती ६ गाविस गाभिएर महालक्ष्मी नगरपालिका निर्माण भएपछि त्यसको केन्द्र जीतपुर बजार बनेकाले केन्द्रमा सबै वडाका जनतालाई जोड्नका लागि सडक विस्तारलाई तीव्रता दिइएको हो ।

नगरपालिकाको पूर्वी सिमाना, तेह्रथुम जिल्ला, पश्चिम भोजपुर जिल्ला, उत्तर सङ्खुवासभा जिल्ला तथा दक्षिण पाख्रीबास नगरपालिका र छथर गाउँपालिका रहेका छन् । ती सबैतिरबाट नगरपालिकाको केन्द्र जीतपुर बजारलाई जोड्नका लागि चारैतिरबाट सडक निर्माणको कार्य थालिएको छ । नगरपालिकाका ९ वडाका गाउँगाउँमा स्थानीय किसानहरूले उत्पादन गरेका कृषिजन्य सामग्री र दुग्धजन्य वस्तुलाई सहज तरिकाले केन्द्रको बजारसम्म ल्याएर बिक्री गर्न सहज बनाउनुपर्ने योजना अनुसार नगरपालिकाले गौरवका आयोजना भनेरै नगरसभाबाट पारित गरी सडक निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको मेयर नेपालले बताए ।

नगरपालिकाले गौरवको योजना अनुसार महालक्ष्मी चक्रपथ नामकरण गरेर नगरपालिकाको केन्द्रलाई जोड्दैछ । नगरपालिकाले छथर जोरपाटीबाट सिँधुवा हँुदै वैकल्पिक सडकका रूपमा त्रिशुलेसम्मकोे २२ किलोमिटर सडक निर्माणको काम थालेको जनाएको छ । पाख्रीबास नगरपालिकाबाट जीतपुर सिधै आउने गरी चित्रेबजारबाट आउने सडक निर्माण काम थालिएको छ । ती स्थानमा दुई ओटा सडक निर्माणको योजना अनुसार ट्रयाक खोलिसकिएको छ । त्यस्तै, खाप्राङ, मूर्तिढुङ्गा हँुदै जीतपुरसम्मको सडकमा पनि ट्रयाक खोल्ने काम सकिएको छ ।

अर्कोतर्फ दारेगौँडा–चित्रे र वसन्तपुरको बीचबाट जीतपुर जोड्ने सडकको ट्रयाक खोली ग्राभेल गरिसकिएको महालक्ष्मी नगरपालिकाका मेयर नेपालले बताए ।

अरुण नदीको किनारमा लेगुवा खोलाको किनारबाट महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुरलाई जोड्ने सडक निर्माण कार्य पनि नगरपालिकाले थालेको छ । त्यसैगरी डाँडागाउँ हुँदै चानुवा प्रवेश गर्ने गरी मुढेशनिश्चरेबाट खनिएको सडकको स्तरोन्नति गर्ने काम पनि नगरपालिकाले गरेको छ । सो सडक चाँडै कालोपत्रे हुने क्रममा छ ।

चालु आर्थिक वर्षमा सोही सडकको थप १० किलोमिटर कालोपत्रे गर्ने योजना अनुसार आवश्यक प्रक्रिया अघि बढाइएको छ । सो सडकबाट पनि जीतपुर प्रवेश गर्न सकिने मेयर नेपालले बताए ।

त्यस्तै, रामबजार (लेगुवा)बाट जीतपुर जोड्ने गरी ९ मिटरको वैकल्पिक राजमार्ग बनाउने योजना नगरपालिकाले अघि सारेको छ । सो योजनाअनुसार हाल सो क्षेत्रमा कतै कटिङ, कतै सोलिङ र कतै ग्राभेलको काम भइरहेको मेयर नेपालले बताए । त्यहीँबाट अर्को सडक पनि विस्तार गरी जीतपुरलाई जोड्नका लागि आवश्यक कार्य थालिएको मेयर नेपालले जनाए ।

महालक्ष्मी नगरपालिकाको सिमानामा पाख्रीबास नगरपालिका पर्छ । लेगुवाको सिम्ले भन्ने स्थानबाट अर्को ट्रयाक खोलिएको छ । मूर्तिढुङ्गाको आहाले तथा निगुरेटार हुँदै डाँडागाउँ जोडिने बाटो पनि ग्राभेल गरिएको छ ।

जीतपुर, मजेपु हुँदै डाँडागाउँ पु¥याउने गरी ट्रयाक खोलिसकिएको छ । त्यस्तै, कटहरे जीतपुर, ढोडे, चानुवा जोड्दै धर्मदेवीसम्मको सडक ग्राभेल गर्ने योजनाका साथा टेण्डर आह्वान गरिसकिएको मेयर नेपालले बताए । अन्य बस्तीहरूमा पनि जनताका आवश्यकता र मागका आधारमा सो स्थानमा ट्रयाक खोल्ने काम पनि नगरपालिकाले गरिसकेको मेयर नेपालले बताए ।

चालु आर्थिक वर्षदेखि सडकका लागि नयाँ ट्रयाक खोल्ने काम बन्द गरिएको मेयर नेपालले बताए । चालु आर्थिक वर्षदेखि नगरपालिका, प्रदेश सरकार, सङ्घीय सरकार, एशियाली विकास बैंक र सांसदहरूको कोषबाट प्राप्त बजेटबाट सडक कालोपत्रे तथा स्तरोन्नतिको कार्य अघि बढाइने मेयर नेपालले बताए । मेयर नेपालका अनुसार गत आर्थिक वर्षमा उन्नति परियोजनाको सहकार्यमा ६३ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ ।

चालु आर्थिक वर्षमा चानुवा जाने सडक कालोपत्रे हुने र त्यसका लागि टेण्डर आह्वान भएको मेयर नेपालले बताए । त्रिशुले जीतपुर हुँदै रामबजारसम्म जाने ३३ किलोमिटर सडक कालोपत्रेका लागि एशियाली विकास बैंक प्रस्ताव पेश गरिएको महालक्ष्मी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खगेन्द्र नेपालले बताए ।

अर्को नगरपालिका केन्द्रसम्म आइपुग्ने सडक निर्माणको योजना छ । सो सडकलाई पनि सङ्घीय सरकारको नीतिअनुसार नगरपालिकासम्म आउने सडक कालोपत्रे गर्ने भन्ने योजनाअनुसार सोही अनुसार कालोपत्रेका लागि सङ्घीय सरकार र दातृ निकायसँग प्रस्ताव पेश गर्ने काम नगरपालिकाले गरेको छ ।

एउटा सडक बिग्रिँदा अर्कोलाई वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने भएकाले महालक्ष्मी नगरपालिकाले चारैतिरबाट नगरपालिकाको केन्द्र जीतपुरलाई जोड्ने गरी सडक निर्माण योजना अनुसार काम गरिरहेको मेयर नेपालले बताए ।

‘विगतका दिनहरूमा १०÷१५ किलोमिटर सडक बिग्रँदा जिल्ला सदरमुकाम धनकुटाको प्रवेशद्वार नै बन्द भएको घटनाबाट पाठ सिक्दै महालक्ष्मी नगरपालिकाले गौरवका योजनाका रूपमा माकुराको जालो झैँ सडक विस्तार तथा निर्माणलाई विशेष प्राथमिकतामा राखेको हो ।’

sadak mahlaxmi  (1) sadak mahlaxmi  (3)