धनकुटा, महालक्ष्मीः साँगुरीगढी (भेडेटार)को नमस्ते झरनाभन्दा उचाइका हिसाबले दुई गुणा ठूलो धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर २ र ३ को बीच भाग चोक्ताङमा पर्ने लेगुवा झरना नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना ठूलो भए पनि प्रचार अभावमा ओझेलमा परेको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालका अनुसार लेगुवा झरनाको उचाइ १ सय ६० मिटरभन्दा बढी छ ।

यो झरना ३ तहका अग्ला पहाडलाई छिचोल्दै १२ महिना एकै रफ्तारमा झरिरहन्छ । ओझेलमा परेको लेगुवा झरनालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरी महालक्ष्मी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना अनुसार नगरपालिकाले विशेष योजना बनाएको मेयर नेपालले बताए ।

मेयर नेपालका अनुसार चालु आर्थिक वर्षमा विज्ञ टोली ल्याएर जीपीएसको माध्यबाट यो झरनाको वास्तविक उचाइ र चौडाइ पत्ता लगाई यसको व्यापक प्रचार गर्ने योजना नगरपालिकाले बनाएको छ ।

चोक्ताङमा पर्ने लेगुवा झरना पुग्नका लागि सहज सडकको निर्माण गर्नुपर्ने भएकाले गत आर्थिक वर्षमा झरनासम्म सहजै तरिकाले यातायताका साधन पुग्ने सडकको ट्रयाक खोल्ने काम गरिएको मेयर नेपालले बताए । उनका अनुसार साना बस, निजी सवारी साधन र मोटरसाइकल सहजै सो झरना भएको स्थानसम्म पुग्ने गरेका छन् । सो स्थानमा आकर्षक झरना छ भन्ने थाहा हुनेहरू बर्सेनी आउने गरेको महालक्ष्मी नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष धु्रव रायमाझीले बताए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा वडा, नगरपालिका, प्रदेशका माननीयको आर्थिक सहयोगमा २२ लाख खर्च गरी झरनासम्म पुग्न ५ सय पक्की सिँढी निर्माण गरिएको छ । सिँढी निर्माण गरिएको स्थानको बीचबीचमा यात्रुका लागि विश्रामालय र शौचालय समेत सोही बजेटबाट निर्माण गरिएको वडाध्यक्ष रायमाझीले बताए ।

दुरीका हिसाबले इटहरीबाट १ सय १ किलोमिटरको यात्रा पार गरेपछि लेगुवा झरना पुग्न सकिन्छ । यो झरना पुग्नका लागि महालक्ष्मी नगरपालिकाले चारै तर्फबाट सडक निर्माण गरेको छ । चालु आर्थिक वर्षमा यो झरना पुग्ने सडकको स्तरोन्नति गरी झरना महोत्सव गर्ने योजना रहेको मेयर नेपालले बताए ।

झरनाको तल्लो भागमा विशाल ढुङ्गा रहेकाले ती ढुङ्गाहरुलाई नचलाइकन यथास्थानमै मूर्तिकारको भेला गराई विभिन्न आकृति बनाएर यसको सौन्दर्य थप बढाउने योजना पनि नगरपालिकाले बनाएको मेयर नेपालले बताए । सो स्थानलाई स्टोन पार्कका रूपमा विकास गर्ने सोचाइ रहेको उनले बताए ।

खासगरी नयाँ वर्षको दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको महालक्ष्मी नगरपालिकाका मेयरका सल्लाहाकार कमल कार्कीले बताए । सल्लाहाकार कार्कीले भने, ‘अब नगरपालिकाले १२ महिना लेगुवा झरनामा विदेशी तथा स्वदेशी पर्यटक आउने र कम्तीमा एक दिन यही झरनाको वरिपरि बस्ने खालको वातावरण निर्माण गर्ने योजनाका साथ नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ ।’

झरना भएको पूर्वी भागमा मगर जातिको बसोबास रहेको छ । अन्य स्थानमा लिम्बू, ब्राह्मण र क्षेत्री जातिको बसोबास रहेको कार्कीले बताए । सङ्घीय सरकार, प्रदेश सरकार, पर्यटन बोर्डलगायतलाई बजेट निकासका लागि विशेष प्रस्ताव पेश गर्ने योजना नगरपालिकाले बनाएको उनले बताए । नगरपालिकालाई ५ देखि १० करोड बजेट जुटेमा लेगुवा झरनासम्म सहज तरिकाले आउने र व्यापक प्रचार नगरपालिकाले गर्न सक्ने उनले बताए ।

उनले भने, ‘हामी लेगुवा झरनाको विकासका लागि प्रदेश सरकारको पर्यटन मन्त्रालयसँग मिलेर लगानी गर्न पनि तयार छौं । त्यहाँबाट हुने आम्दानीलाई आपसी सहमतिमा प्रदेश सरकार र महालक्ष्मी सरकारले बाँडफाँड गर्न पनि तयार छ । तर, यो झरनाको विषयमा प्रदेश सरकारले पनि चासो राख्नुप¥यो ।’

होमस्टे सञ्चालनको तयारी

लेगुवा झरना घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई कम्तीमा एक दिन भुलाउनका लागि झरना आसपासमा रहेको करिब ३ सय रोपनी क्षेत्रफलमा होमस्टे सञ्चालनका लागि स्थानीयलाई प्रोत्साहित गर्ने योजना नगरपालिकाले बनाएको छ ।

त्यसका लागि महालक्ष्मी नगरपालिका वडा नम्बर २ र ३ ले विशेष पहल गर्नेछन् । २ ओटा वडाको पहलमा नगरपालिकाले आवश्यक सहयोग गर्ने योजना बनाएको मेयर नेपालले बताए । खासगरी झरनाको पूर्वी भागमा बस्ने मगर समुदायका जनतालाई आफ्नो परम्परा झल्कने खालका टिपिकल घर निर्माण गरी होमस्टे सञ्चालन गर्न प्रोत्साहन गर्ने योजना बनिरहेको मेयर नेपालले बताए । त्यसका लागि उनीहरूलाई आवश्यक तालीम र होमस्टे सञ्चालनका लागि लाग्ने खर्चको व्यवस्थापनमा आवश्यक सहयोग गर्ने योजना रहेको उनले जनाए ।

यसरी पुगिन्छ लेगुवा झरना
सार्वजनिक, निजी र भाडाका सवारी साधन प्रयोग गरी लेगुवा झरनासम्म सहजै पुग्न सक्नुहुन्छ । तत्काललाई सो झरना वरिपरि पसल नखुलेकाले तपाईले आफ्नो साथमा आफूलाई चाहिने खाजा भने लैजानुपर्छ । सो स्थानमा साना सवारीका साधन सहजै पुग्न सक्छन् । सवारी साधनको यात्रापछि करिब २० मिनेटको पैदल यात्रापछि तपाई लेगुवा झरना पुग्न सक्नुहुन्छ । ३ तहको यो झरनाको सबैभन्दा माथिल्लो भाग पुग्न चोक्ताङबाट घोरेटो बाटोको प्रयोग गर्नुपर्ने हुन्छ । जहाँ तपाई झरनासँग भिज्दै दिनभर रमाउन पाउनुहुन्छ । इटहरीबाट धरान हँुदै धनकुटाको सिँधुवासम्म पुगेपछि त्यहाँबाट १३ किलोमिटरको यात्रापछि महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर पुगिन्छ ।

जीतपुरबाट १२ किलोमिटरको यात्रापछि लेगुवा झरना भएको स्थान चोक्ताङ पुगिन्छ । इटहरीबाट करिब १ सय १ किलोमिटरको यात्रा गर्दा सो झरना भएको स्थानमा पुग्न सकिन्छ ।
दारेगौँडा घुमाउने हुदै पश्चिमतर्फ १८ किलोमिटरको यात्रापछि पनि लेगुवा झरना पुग्न सकिन्छ । लेगुवा बजारबाट १३ किलोमिटरको यात्रा गरेपछि सो झरना पुगिने नगरपालिकाका कर्मचारी ढकालले बताए । सिँधुवाबाट निगुरेटार पारीखाप्राङ हुँदै १७ किलोमिटरको यात्रा पार गरेपछि यो झरना आइपुगिने ढकालले जनाए ।

शिलाजीतको खानी
लेगुवा झरनासँगै जोडिएका ठूलाठूला पहाडमा प्रशस्त जडिबुटी पाइने गरेको छ । महालक्ष्मी नगरपालिकाका कर्मचारी भुवन ढकालका अनुसार सो स्थानमा तोलाका हिसाबले बिक्री हुने शिलाजीत प्रशस्तै पाइन्छ । गर्मी समयमा बढी पग्लिएर झर्ने गरेको उनले जनाए । सो स्थानमा तामाको खानी पाउनुका साथै चमेरे गुफा र बनझाँक्री बस्ने गुफा प्नि प्रशस्तै पाइने ढकालले बताए ।
झरनाको अवलोकन गर्न जाने जो कोहीले ती वस्तुको नजिकबाट अवलोकन गर्न पाउने उनले बताए ।