बेलबारीः स्थानीय तहमा प्रविधिले फडको मार्न थालेको छ । जनप्रतिनिधि आएसँगै विकास निर्माणका काम गर्न तथा भ्रष्टाचार न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रविधिलाई प्रयोगमा ल्याउन थालिएको छ । बेलबारी नगरपालिकाले बैशाख महिनाभित्रमा विकास निर्माणका काम सक्ने गरी नगरसभाबाटै निर्णय गराएपछि योजना तथा अनुगमनलाई प्रभावकारी बनाउन नयाँ सफ्टवेयर खरीद गरेको छ ।
सफ्टवेयरमार्फत् मोबाइल एपको प्रयोग गरेर सूचना लिन तथा गुनासो सुन्न सकिने गरेर ‘जनतासँग सरकार’ नामक सफ्टवेयर खरीद गरिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बताए । सूचना प्रविधिमा पछिल्ला केही वर्षयता स्थानीय तहहरू अघि बढिरहेका छन् । दर्ता चलानीदेखि जिन्सीसम्मको काम समेत प्रविधिको प्रयोग गरेर स्थानीय तहले गरिरहेका छन् । घरमै बसेर वडामा भएका योजनाको सम्झौतादेखि अनुगमन गर्न समेत सकिने प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।
प्रविधिको प्रयोग गरेर नगरपालिका तथा गाउँपालिकाले सेवा प्रवाह गर्दा पहिलेभन्दा धेरै सुधार भेटिएको सेवाग्राही बताउँछन् । ‘मालपोत तिर्न आउँदा लाइनमा बस्नुपथ्र्यो । अहिले एकै छिनमा काम हुन्छ’, सुन्दरहरैंचाका सन्तोष घिमिरेले भने ।
नगर तथा गाउँपालिकामा राजस्व सङ्कलनसमेत सफ्टवेयरमार्फत् भइरहेको छ । ‘नगरबाटै वडामा सङ्कलन भएको राजस्व हेर्न सकिन्छ’, बेलबारी नगरपालिकाकी लेखा अधिकृत धनमाया राईले भनिन्, ‘हामी दैनिक कुन वडामा कति राजस्व सङ्कलन भयो भनेर पनि हेर्छाैँ ।’ सफ्टवेयरमार्फत् काम गर्दा समयको बचतसँगै अनियमितता पनि नहुने उनले बताइन् ।
बजेट समेत स्थानीय तहले सफ्टवेयरमार्फत् नै बनाउने गरेका छन् । सूत्र सफ्टवेयरमार्फत् बजेट बनाउने गरेको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत टेकनाथ रेग्मीले बताए । पछिल्लो समय स्थानीय तहमा योजना, राजस्व तथा सम्पत्ति मूल्याङ्कन, घरनक्सा, सामाजिक सुरक्षालगायतका क्षेत्रमा प्रविधिको प्रयोग हुने गरेको छ । छिटो छरितो सेवा प्रवाह गर्नका लागि प्रविधिको प्रयोगमा स्थानीय तह लागिरहेका छन् ।
लामो सयमसम्म जनप्रतिनिधिविहीन भएका नगर तथा गाउँपालिकामा कामले गति लिन थालेको छ । पहिले के थियो कसो थियो भनेर हेर्ने भन्दा पनि अब कसरी जनतालाई सेवा दिन सकिन्छ भनेर नयाँ नयाँ प्रविधिको खोजी गरेर सेवा लिन आउनेलाई छिटो सेवा दिन लागि पर्ने गरेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
................