धनकुटाः धनकुटासहित पूर्वी पहाडका चार जिल्लालाई सेवा दिने उद्देश्यले धनकुटामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएको ४ महिना भएको छ । तर आन्तरिक व्यवस्थापन र पूर्वाधार अभावमा कार्यालयले प्रभावकारी रूपमा सेवा दिन सकेको छैन ।
प्रदेश राजधानीको माग राख्दै लामो समयसम्म आन्दोलन चलिरहेको बेला धनकुटाको आन्दोलन मथ्थर पार्न गत बैशाखमा प्रदेश सरकारले धनकुटामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना ग¥यो । कार्यालय स्थापना गर्न धनकुटा आएका मुख्यमन्त्री शेरधन राईले आवश्यक पूर्वाधार र कर्मचारीको व्यवस्था गरेर यातायातका सबै प्रकारका सेवा धनकुटा कार्यालयबाटै उपलब्ध गराउने वचनबद्धता समेत गरेका थिए । धनकुटासहित कोशी पहाडका भोजपुर, सङ्खुवासभा र तेह्रथुमका सर्र्वसाधारण समेत यो निर्णयले उत्साहित थिए । तर कार्यालय स्थापना भएको ४ महिना बित्दा समेत कार्यालयले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन । सानासाना कामको लागि पनि यातायात कार्यलय इटहरी नै धाउनुपर्ने बाध्यताको अन्त्य नभएको सेवाग्राही दिनेश राई बताउँछन् ।
कार्यालय स्थापना हुँदा सवारी दर्ता नवीकरण, रुट परमिट र सवारी कर असुली, सवारी साधनको जाँचपास लगायतको अधिकार दिइएको थियो । त्यस्तै, भदौको पहिलो हप्ता सवारीचालक अनुमतिपत्र नवीकरण, यातायात सेवाको नाम पञ्जीकरण, सवारी दर्तालगायत ६ प्रकारका अधिकार थप गरेको थियो । अधिकार थप गरे पनि पूर्वाधार अभाव, अफिस कोण, तथा सफ्टवेयर उपलब्ध नहुँदा सेवा प्रवाह गर्न नसकिएको यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख ईश्वर थापा बताउँछन् ।
यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने सबै किसिमका सेवा उपलब्ध गराउने भनिए पनि कार्यालयले ट्रायल लिने र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने जस्ता मुख्य कामको जिम्मेवारी अहिलेसम्म पाएको छैन । त्यस्तै प्रदूषण जाँचका लागि कार्यालयसँग उपकरण नै छैन ।
कार्यालय अन्तर्गतका विभिन्न शाखाले साँघुरा ३ ओटा कोठाबाट सेवा प्रदान गर्नुपर्ने अवस्था रहेको उनले बताए ।